बोक्सीखोलाको चिनो चौंरीको चीज
सुन्दरकुमार थकाली
मुस्ताङ, माघ १३ ।
किसानी गरेर गुजारा चलाउन नेपालमा सजिलो छैन । किनकी नेपालको खेती किसानी आधुनिक भैसकेको छैन । विहान बेलुकीको गर्जो टार्ने माध्ययम मात्रै हो । अचेलभरी केही किसान चाहीँ फरक पहिचान बनाउने लक्ष्यले फरक हिसावको किसानीमा पनि छिरेका छन् । केहीले ब्यक्तिगत रुपमा र केही सामूहिक रुपमा कृषिको दैनिकी विताईरहेका छन् । यो लहर पहाड र तराईमा मात्रै छैन । हिमाली क्षेत्रमा पनि पुगिसक्यो । थासाङ २ कोवाङ (मुस्ताङ) का किसानहरु समूहमा मिलेर बोक्सीखोलामा चीज उद्योग थालेका छन् । धौलागिरी गुरुसाङबो सहकारी संस्थामा आवद्ध २५ जना किसानले गाउँमै उन्नत जातका जर्सी गाई पालेर चीज बनाउन थालेका हुन् । उनीहरुको गोठमा अहिले २० वटा गाई छन् । ३ बर्षअघि हिमाली उपआयोजनाको आर्थिक सहयोगमा सुरु भएको उद्योग अहिले ब्यवसायीक भैसकेको छ । चिजको ब्यापार पहिलेदेखि नै राम्रो भएपनि यसको ब्यवसायिक दक्षताको अभावले किसानहरु यसमा आकर्षित हुन सकेका थिएनन् । उद्योग स्थापना गर्ने बेला हिमाली उपआयोजनाले मात्रै ४३ लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । बाँकी १३ लाख रुपैयाँ चाहीँ सहकारीका सदस्यले जम्मा गरेका हुन् ।
जिल्लामै एउटा मात्रै उद्योग भएकाले पनि पर्यटक लक्षित मुस्ताङका होटल तथा रेष्टुरेण्ट चिज, छुर्पी र घ्यु चाहिए बोक्सिखोला पुग्छन् । उनीहरुले ल्याएका चिज पर्यटकले किनेर विदेशसम्म पु¥याउँछन् । ‘पहिले चिज बनाउने सीप कसैसँग पनि थिएन । उद्योग बनाउने बेला तालिम लिएपछि धेरैले रोजगारी पनि पाएका छन्, संस्थाका अध्यक्ष नरप्रसाद हिराचनले भने–चिसोमा बनाएको चिज पूरा क्वालिटीको हुन्छ । टुरिष्ट आउँदा किनेर लैजान थालेका छन् ।’ उपल्लो मुस्ताङ देखि म्याग्दीको दाना र तातोपानीमा रहेका होटल संञ्चालकले समेत उद्योगका उत्पादन अर्डर गर्न थालेका उनले बताए । ‘उत्पादन गर्न सके बजारको चिन्ता छैन । अहिले माग धान्नै धौधौ छ, उनी भन्छन्–गाई थपेर उत्पादन बढाउने सोंचमा छौं । अव हिमाली क्षेत्रका चौंरी गाई पनि पाल्न थाल्छौं ।’ अन्तराष्ट्रिय बजारमा मुस्ताङको ब्यापार बढाउने उनको लक्ष्य छ ।
दुधलाई मेशीनद्धारा प्रशोधन गरेर चिज र छुर्पी तयार गरिन्छ । बोक्सीखोलाको उद्योगमा ६ कोठा छन् । जर्सी गाईलाई अलग्गै टहरो बनाईएको छ । गरिब तथा बिपन्न समूदायलाई लक्षित आयोजनाले आर्थिक स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यले उद्योग स्थापनाका लागि समुदायलाई सहयोग पु¥याएको हो । कोवाङ, खन्ती, नाकुम, सौरु, लार्जुङ र बोक्सीखोला गरेर ६ गाउँका किसान समुह सहकारीमा आवद्ध छन् । सहकारीले दैनिक १ सय ५० लिटर दुध उत्पादन गर्दै आएको छ । उत्पादित दुध पूरै चिज, छुर्पी र दही–घ्युमा प्रयोग हुन्छ । अहिले गाईका बाच्छाबाच्ची हुर्काएर दुधालु गाई बढाउने काम भैरहेको संस्थाका सचिब बुद्धिसिंह दर्जीले जानकारी दिए । उनका अनुसार आगामी ५ वर्ष भित्र व्यवसायिक उद्योगको रुपमा स्थापित गर्ने सहकारीको योजना छ । उद्योगबाट दैनिक एक केजी चिज र उति नै छुर्पी बन्छ । महिला पुरुष गरी ५ जागिरेले दिनहुँ उद्योगमा जागिर पाएका छन् । उत्पादित चिज प्रतिकिलो १३ सय रुपैयाँमा विक्री हुन्छ । बर्षेनी ३६ लाखको कारोवार गर्ने उद्योगमा २ लाख हाराहारीमा सञ्चालन खर्च हुने गरेको अध्यक्ष हिराचन सुनाउँछन् ।