बैशाखदेखि बर्दिबास–जयनगर रेल गुड्ने, ५ ठाउँमा रेलमार्ग बनाईंदै (कहाँ-कहाँ सहित)

काठमाण्डौं, चैत १७ ।
भारत सरकारको सहयोगमा नेपालका पाँच स्थानमा रेलमार्ग जोडिने भएको छ । आठ वर्षअघि दुई देशबीच भएको समझदारीअनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउने भएको हो । नेपाल र भारतबीच भएको समझदारीअनुसार बर्दिबास–जयनगर ६८ दशमलव ७२ किलोमिटर लामो रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बर्दिबास–जयनगर रेलमार्गले भारतको मधुवनी जिल्ला हुँदै नेपालको धनुषा, महोत्तरी र सिराहा जिल्लालाई समट्नेछ । नेपालतर्फ कूल ६५ दशमलव ७३ किमि रेलमार्ग पर्छ भने भारततर्फ २ दशमलव ९९ किमि पर्छ । सो रेलमार्गमा गुड्ने रेलको गति १०० किमी प्रतिघन्टा रहनेछ । सो रेलमार्गमा १७ वटा ठूला पुल र १२३ वटा साना पुल निर्माण भएका छन् । भारत सरकारको तर्फबाट रेल जोडिनेबित्तिकै बर्दिबास–जयनगर रेल सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सम्भवतः आगामी बैशाखदेखि नै सो रेलमार्गमा रेल चल्नेछ ।
इञ्जिन र डिब्बा खरिदबारे चाँडो निर्णय भए जयनगरदेखि धनुषाको कुर्थासम्म निर्माण सम्पन्न भएको रेलमार्गमा रेल चलाउन सकिने रेल विभाग, नेपालका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायको भनाइ छ । यो मार्गमा चलाउन लागिएको रेल ब्रोडगेज रेल हो । ‘ब्रोडगेज रेलको चालक तथा मर्मतसम्भार गर्ने जनशक्ति नभएपछि विभागले चीन र भारतमा केही प्राविधिकलाई तालिमका लागि पठाइएको छ ।
अरु कहाँ बन्दैछन् रेलमार्ग ?
समझदारीअनुसार, विराटनगर– जोगवनी १८ दशमलव ६ किमि, भैरहवा–नौतनवा १५ दशमलव ३० किमि, नेपालगञ्ज–नेपालगञ्ज रोड १२ दशमलव ११ किमि, काँकडभिट्टा–जल्पाइगुडी ७० किमि रेलमार्ग निर्माण हुनेछन् । जोगवनी–विराटनगर रेलमार्ग भारततर्फ ५ दशमलव ४५ किमि र नेपालतर्फ १३ दशमलव १५ किमि पर्नेछ । रेलको गति भने १०० किमी प्रतिघन्टा नै रहनेछ । सो रेलमार्गमा तीन मुख्य र २९ वटा सहायक पुल पर्नेछन् । उक्त रेलमार्ग दुई चरणमा निर्माण गरिनेछ । सन् २०२० सम्ममा नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसैगरी नेपालगञ्ज–नेपालगञ्ज रोड १२ दशमलव ११ किमी लामो रेलमार्गको सर्वेक्षणको काम सम्पन्न भएको रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर उपाध्यायले जानकारी दिए । ’प्राविधिक काम सबै सकिएको छ, हामी अब छिट्टै सो रेलमार्गको काम अगाडि बढाउँछौँ,’ उनले भने ।
यस्तै काँकडभिट्टा–जल्पाइगुडी रेलमार्गको अध्ययनको काम नै अगाडि बढेको छैन । विभागले नेपाल र भारतका अधिकारीसँग समन्वय गरेर अध्ययन अगाडि बढाउने योजना तय गरेको छ । यसैगरी भैरहवा–नौतनवा १५ दशमलव ३० किमी लामो रेलमार्ग निर्माणको अध्ययन सुरु हुन सकेको छैन । विभागले सो रेलमार्गको समेत छिट्टै अध्ययन सुरु गर्ने तयारी गरेको छ । यस्तै विभागले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि पनि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको काम विभिन्न खण्डमा भइरहेको छ । विभागका अनुसार विसं २०७५ को मंसिरअघि सबै खण्डको डिपिआर सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सरकारले सो परियोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेको छ । झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्मको करिब ९४५ किमी लामो विद्युतीय रेलमार्ग विद्यमान पूर्व–पश्चिम राजमार्गको समानान्तररुपमा निर्माण गर्ने तयारी गरिएको छ । हाल अध्ययन कार्य जारी रहेको र डिपिआर तयारीपछि निर्माणको ढाँचाका बारेमा आवश्यक निर्णय गर्ने तयारी विभागले गरेको छ । यस्तै चीनबाट पनि केरुङ रसुवागढी हुँदै काठमाडौँ र काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग विस्तार गर्ने योजनालाई प्राथमिकतामा राखी काम भइरहेको छ ।