बेपत्ता पौडेलको खोजी तीब्र, क्यानोनिङको टोलि सेती खोंचमा

पोखरा, असार १९ ।
कास्की प्रहरीले बेपत्ता ओमराज पौडेलको खोजीलाई तीब्र पारेको छ । गत असारको ९ गते शनिवार विहानदेखी हराइरहेका पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख पौडेललाई खोज्न पोखरा क्यानोनिङको प्राविधीकहरुको टोलि खटाईएको थियो ।

महेन्द्रपुलदेखी महतगौडाको दोविल्लासम्म संकास्पद ठाउँहरुमा खोजी गरेको छ । सोमबार दिउँसो २ बजेदेखी सांझ ५ बजेसम्म महेन्द्रपुल, रामघाट पुलको आसपास र दोविल्लामा रहेको सेती नदीको खोंचमा क्यानोनिङको प्राविधीक टोलीमार्फत खोजि गरिएको एसपी ओम रानाले बताए ।

रानाका अनुसार खोंचमा रहेका विभिन्न भुमरीहरुमा सम्भावित ठाउँहरु किटान गरी खोजिएको हो । सोमबार क्यानोनिङका ५ जना प्रविधीकहरुले खोजी गरे । लामो समसयसम्म खोजी गर्दा पनि फेला परेको छैन । उनको खोजीका लागि तनहुँ र चितवनमा समेत समन्वय भैरहेको प्रहरीले जनाएको छ ।

मुसलधारे झरीको प्रवाह नगरी पोखरा क्यानोनिङका प्राविधीक सुनिल गुरुङको नेतृत्वमा ५ जनाको टोली सेती खोंचमा पसेका थिए । झण्डै तीन घण्टाको अवधिमा सम्भावित चार वटा ठाउँहरुमा खोजिएको गुरुङले बताए । उनले सेतीको बहाव बढेका कारण खोंचहरुमा समेत कुनै बस्तु तैरिने अवस्था नरहेको बताए ।

पौडेलको खोजी तिव्र पार्न नेपाली काँग्रेस कास्कीले आईतबार प्रमुख जिल्ला अधिकारीसँग ज्ञापनपत्र नै बुझाएको थियो । खोजीकार्यमा सुस्तता आएको भन्दै तुरुन्त प्राविधिक टोलीबाट खोजवीन गर्न काँग्रेसको माग थियो ।