बेगनास डुंगा दुर्घटना अपडेटः बेपत्ता ६ जनाको खोजी सुरु

पोखरा, भदौ २४ ।
शनिबार पोखराको बेगनासतालमा डुंगा पल्टिदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–२८ की कृष्णकुमारी बजगाईँ र लेखनाथकी जमुना कडेंल छन् । त्यस्तै ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बजगाईँ र कँडेल दुबैको उपचारको क्रममा मृत्यु भएको हो ।

बेपत्ता भएकाहरुको आइतबार विहान साढे सात बजेदेखि नै खोजीकार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । डुंगामा सवार सबैजना आफन्तकोमा दर खान आएका थिए ।

सोही मौकामा ताल घुम्न जाँदा डुंगा पल्टिएको हो । डुंगामा डुल्दै जाँदा एउटा बच्चा तालमा खसेको र उनैलाई बचाउन खोज्दा डुंगा डुबेको हो । डुंगा पल्टीएको देखेपछि स्थानीयले उद्धारको काम गर्दै प्रहरीलाई खबर गरेका थिए ।

उद्धार गरिएका पोखरा ३१ बेगनास गाउँका ५५ वर्षीय कमलराज कँडेलको अवस्था गम्भिर छ । सपना खनाल र निशा पौडेलको सकुशल उद्धार गरिएको छ ।

नवलपरासी गैडाकोटबाट तीज मान्न माइत आएकी सपनाका श्रीमान र दुई छोरा वेपत्ता छन् । नवलपरासी गैडाकोटका ३२ बर्षिय रवी खनाल, उनका ७ बर्षिय छोरा शंकर ८ बर्षिय अर्का छोरा शिब, जमुनाका ५ बर्षिय छोरा रंजित गैह्रे बेपत्ता छन् । यस्तै, पोखरा नयाँ बसपार्ककी १८ बर्षिया मनिषा बजगाईं र ५ बर्षिय प्राचिन पौडेल बेपत्ता छन् ।

तालमा हराइरहेकाहरुको खोजीको लागि नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीको गोताखोरको टोली खटिएपनि बेपत्ता भएकाहरुलाई भेट्टाउन नसकिएको डिएसपी गुरुङले जानकारी दिए । ५ जना भारवहन क्षमता रहेको डुंगामा बालबालिका सहित नौदश जना चढेका थिए ।