बुहारी र नातिनीको हत्या गरेको आरोपमा सासु ससुरा पक्राउ, श्रीमान् फरार

जनकपुर, माघ ३ ।
धनुषामा आफ्नै बुहारी र नातिनीको हत्या गरेको आरोपमा प्रहरीले सासु–ससुरालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–४ बस्ने समिर मिश्रकी २५ वर्षीया श्रीमती सीमा शर्मा र उनकी दुई वर्षीया छोरी गौरी मिश्रलाई विष खुवाएर हत्या गरेको आरोपमा सीमाका ससुरा श्यामसुन्दर मिश्र र सासू किरण मिश्रलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

सीमाका माइतीले उनी र उनकी छोरी गौरीलाई घर पक्षले विष सेवन गर्न लगाएर हत्या गरेको आरोप लगाएका छन् । घर पक्षले दाइजोका लागि सीमालाई दुःख दिने गरेको माइती पक्षको भनाइ छ ।

घटनापछि सीमाका श्रीमान् समिर मिश्र फरार छन् । सीमा र गौरीलाई विष खुवाएर समिर फरार भएको माइती पक्षको आरोप छ । विष सेवनका कारण सीमाको मृत्यु भएको र गौरीको पनि उपचारका क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।