बुद्ध एयरले पोखरा मै जहाज राखेर सेवा दिने, ७ बजे नै उडान हुने

पोखरा, साउन ३० ।
बुद्ध एयरले पोखरा मै जहाज राखेर बिहान ७ बजे पोखरा काठमाडौंका लागि उडान भर्ने भएको छ । पोखराबाट नियमित ८ बजे देखि काठमाडौंका लागि उडान हुने गरेकोमा बुद्धले आइतबार देखि ७ बजे नै उडान भर्ने बुद्ध एयरका पोखरा—स्टेसन म्यानेजर गौतम बरालले बताए ।

काठमाडौमा जहाज पार्किङ, ट्राफिक व्यवस्थापन जस्ता समस्या भएकाले प्रत्येक एयरको १ वटा एयर काठमाडौं बाहिर राख्नु पर्ने नियम बनेको उनले जानकारी दिए । यस अघि बिहान ८ बजे भन्दा अघि उडान नहुने गरेकोमा ७ बजेको उडानबाट यात्रुलाई प्रत्यक्ष लाभ मिल्ने अपेक्षा राखेको उनले सुनाए ।

पोखराबाट काठमाडौंका लागि बुद्ध एयरको ७ उडान भर्ने गरेको उनले उनको भनाई छ । ‘पर्यटकीय मौसम सुरु भएपछि ११ देखि १२ वटा जहाजले उडान भर्छन,’ उनले भने । काठमाडौंबाट पोखराका लागि अपराह्न ३ः३० बजे ‘फोर्टि टु’ एयर पोखरामा नाइट स्टे उडान भर्ने उनले जनाए ।