बीसबर्षपछि विद्याको बहाली !
प्रकाश ढकाल
पोखरा, मंसिर १६ ।
उचाईमा पुगेको राजनीतिक जीवन विस्तारै निस्कृय बन्यो, जतिबेला रवीन्द्र अधिकारीसँग उनको विहे भयो । २०५५ सालमा विहे गर्दा उनी अनेरास्ववियुको केन्द्रीय सचिव थिईन् । घरपरिवारको ब्यवस्थापनमा लागेपछि उनको राजनीति ओझेमा प¥यो । ठ्याक्कै बीस बर्ष भयो, उनी पारिवारमा भुलेको । परिस्थिति बदलियो, चाहना नहुँदा नहुँदै विद्याले २० बर्षपछि राजनीतिमा पुनरागमन गरेकी छिन् । प्र्राध्यापनमा रमाईरहेकी उनी आफ्ना श्रीमान् स्व. रवीन्द्र अधिकारीको निधन भएपछि पार्टीको निर्णयलाई आत्मसात गर्दै कास्की आईन्, रवीन्द्रकै पदचाप पछ्याउन । एमाले र माओवादी मिलेपछि बनेको नेकपाकी उम्मेदवार विद्यालाई जनताले पत्याए । पूरानो विरासत नगुम्ने गरी उनले चुनाव जितेकी छिन् ।
आइतबार सकिएको मतगणनामा भट्टराईले ८ हजार ४ सय ३ मतको फरकमा चुनाव जितेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत ल्याउँदा काँग्र्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत पाएका छन् । चुनावको नतिजा घोषणा भएलगत्तै उनले चुनावी समयमा गरेका सबै प्रतिबद्धता पूरा गर्न लागिपर्ने प्रतिक्रिया दिईन् । ‘मलाई जिताउनुहुने सम्पूर्ण मतदातालाई धन्यवाद छ । हिजो चुनावी घरदैलोमा जाँदा गरेका प्रतिबद्धता सँधै सम्झिरहने छु,’ उनले भनिन्, ‘सबैसँग सरसल्लाह गरेरै अघि बढ्छु । यहाँको विकास निर्माण र आर्थिक समृद्धीमा मेरो जोडवल छ ।’ चुनाव जितेको प्रमाणपत्र लिएर बाहिरिँदै गर्दा विद्याको मुहार मलिन थियो । सबैभन्दा पहिले सम्झिईन्, दिवंगत भएका आफ्ना श्रीमान् रवीन्द्रलाई ।
‘सबैभन्दा पहिला नेपाल कम्युनिष्ट पार्टीका नेता, यस क्षेत्रबाट हिजो प्र्रतिनिधित्व गर्नुहुने जनताका प्रतिनिधि, समृद्ध नेपाल, सुखी नेपालीका अभियान्ता मेरा जीवनसाथी सहयोद्धा रवीन्द्र अधिकारी प्रति हार्दिक सम्मान ब्यक्त गर्न चाहान्छु । हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्न चाहान्छु,’ उनले अघि भनिन्, ‘आज दुखद क्षणबाट उपनिर्वाचन भयो । जनताको अभिमतलाई ३ बर्ष पूरा गर्नका लागि उपनिर्वाचन गर्नुप¥यो । जनताले कम्युनिष्ट पार्टी प्रति विश्वास गर्नुभयो । हामीलाई प्राप्त भएको जनमत रवीन्द्र अधिकारी प्रतिको सम्मान, कम्युनिष्ट पार्टीप्रतिको भरोसा र विद्या भट्टराईप्रतिको भरोसा हो भन्ने ठानेको छु । आगामी दिनमा यो विश्वासलाई अडिग भएर अघि बढाउने प्रतिबद्धता जनाउँछु ।’
धेरैका आँकलनलाई पछि पार्दै भट्टराईले संसद छिर्ने बाटो खोलेकी हुन् । चुनावमा निकै कडा प्रतिश्पर्धा हुने अनुमान थियो । तर त्यसो हुन सकेन । यसअघि स्व. रवीन्द्र अधिकारीले जितेको यो ठाउँमा विद्याले रवीन्द्रभन्दा १ सय ६० कम मत ल्याएर जितेकी हुन् । अघिल्लो पटक ८ हजार ५ सय ६३ मतले पछि परेको नेपाली काँग्रेसले थोरै मत बढाउन त सक्यो । तर त्यो जीतका लागि पर्याप्त भएन, नत प्रतिश्पर्धामा अब्बल बन्यो । कास्कीमा १० स्वतन्त्र र ११ राजनीतिक दल गरी २१ जना चुनावी प्रतिश्पर्धामा थिए । तेश्रो भएको समाजवादीले १ हजार ९ सय २२ र चौथो भएको राप्रपाले १ हजार १ सय ५३ मत पाएको छ ।
बैकल्पिक दावी गरिएको साझा पार्टीले १ हजार मत पनि कटाउन सकेन । २ जना स्वतन्त्र उम्मेदवारले १ मत पाए भने ३ जनाले ४ तथा एकजनाले ५ मत पाए । अधिकांशले निकै न्यून मत पाएका छन् । ७१ हजार ८ सय ७१ मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ५ सय ४६ मत खसेको थियो । ग्रामिण देखि शहरी भेगसमेत समेटेर पोखरा महानगरका ११ वटा वडाहरु यो निर्वाचन क्षेत्रमा पर्छन् ।