बिन्दुलाई सघाउन राप्रपा उम्मेदवार खत्रीले उम्मेदवारी फिर्ता लिए

पोखरा, मंसिर १८ ।
नेपाली काँग्रेसका उम्मेदवार विन्दुकुमार थापालाई सघाउने गरी राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विष्णुबहादुर खत्रीले उम्मेदवारी फिर्ता लिएका छन् । केन्द्र र जिल्ला तहको सहमति अनुसार उम्मेदवारी फिर्ता लिएको खत्रीले बताए । आईतबार दुवै उम्मेदवारले केही ठाउँमा संयुक्त घरदैलो समेत गरेर काँग्रेसको पक्षमा मत मागे ।
‘केन्द्रीय तहको निर्णयले कास्कीमा राप्रपाले काँग्रेसलाई सघाउने सहमति भएको थियो । जिल्ला तहमा पनि शनिबार एकआपसमा सहकार्य गर्ने सहमति भएको हो, उनले भने–त्यसैले विन्दुकुमार थापा राप्रपाको पनि साझा उम्मेदवार हुनुहुन्छ । सबैले रुखमा भोट हालिदिनुहोला ।’ उनले आईतबार पत्रकारहरुका बीचमा उम्मेदवारी फिर्ता लिएर काँग्रेसका उम्मेदवारलाई सघाउने औपचारिक घोषणा गरेका हुन् ।
काँग्रेस उम्मेदवार विन्दुकुमार थापाले राप्रपाको साथले काँग्रेस जीत नजिक पुगेको बताए । ‘यसअघि नै निर्णय भएको हो । तर थोरै कम्युनिकेशन ग्यापले वहाँहरु बाहिरै हुनुहुन्थ्यो, थापाले भने–अहिले पार्टीगत रुपमै निर्णय गरेर हामीलाई सघाउन आउनुभएको छ । यो कास्कीका लागि सकारात्मक पक्ष हो ।’ शनिबार काँग्रेस सभापति कृष्ण केसी र राप्रपा अध्यक्ष जयलाल पुन बीच सहमति गरेर राप्रपा कास्कीले प्रत्यक्षतर्फ सबै तहमा नेपाली काँग्रेसलाई सघाउने निर्णय गरेको हो ।