बालुवाटारबाट निस्केपछि सकियो सुष्माको नेपाल भ्रमण

काठमाण्डौं, माघ १९ ।
नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु र कूटनीतिक अधिकारीहरुसँग संयुक्त भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई पक्षबीच संयुक्त भेट भएको हो । उद्योगपति तथा कांग्रेस नेता विनोद चौधरीको अग्रसरतामा भएको भेटमा प्रधानमन्त्री देउवा, अर्थमन्त्री मोहनबहादुर बस्नेत, उद्योगमन्त्री सुनील थापा, अर्थराज्यमन्त्री उदय शम्शेर राणा, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, शंशाक कोइराला, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेशचन्द्र भट्टराई र परराष्ट्र सचिव शंकरदास बैरागी सहभागी थिए ।
बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेपछि स्वराजको नेपाल भ्रमण सकिएको छ । उनलाई प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा दिवाभोज दिएका छन् । देउवासँगको भेटवार्ता र दिवाभोजपछि उनी आजै स्वदेश फर्किनेछिन् । बिहीबार अपरान्ह नेपाल आएकी उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक भेटवार्ता शुरु गरेकी थिइन् । बिहीबार साँझ एमालेले उनलाई काठमाडौंको होटल सोल्टीमा रात्रीभोज दिएको थियो । त्यहीँ एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एक्लै र एमालेका अरु नेताहरुसँग स्वराजले सामूहिक भेट गरेकी थिइन् ।
शुक्रबार विहान भने स्वराजले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी थिइन् । उनले शुक्रबार नै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरिन् । शुक्रबार नै उनले शितलनिवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेकी छन् ।