बाम गठबन्धन–पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी, चुनाव चिह्न सूर्य

काठमाडौं, असोज १९ ।
स्थापनाको ७० वर्षपछि नेपालमा पुनः एउटै कम्युनिस्ट पार्टी बन्ने निश्चित भएपछि पुनर्गठित पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टीनै रहने भएको छ । एमाले र माओवादीबीच एकीकरणपछि बन्ने पार्टीको नाम नेकपा राख्ने सहमति भएको हो ।
सहमति निर्माणमा सहभागी गृहमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र चुनाव चिन्ह सूर्य राख्ने सहमति केपी ओली र प्रचण्डबीच भइसकेको खुलासा गरेका छन् ।
‘नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता गरेर सूर्य चिन्हमा चुनाव लड्ने सहमति भइसकेको हो, उनले भने–तर कानुनी अड्चनका कारण यो चुनाव अगाडि एउटै पार्टी र एउटै चिन्हमा चुनाव लड्न सकिएन ।’
सूर्य चिन्ह जनताको मनमा स्थापित भइसकेको र आम जनता २५ वर्षदेखि सूर्यमै भोट हाल्न अभ्यस्त भइसकेकाले अरु विकल्प नखोजिएको नेताहरुले बताए । माओवादीभित्र यसअघिनै चुनाव चिन्ह फेर्नेबारे बहस भइसकेको थियो ।
चुनाव चिन्ह र पार्टीको नाममा शीर्ष तहमै सहमति भइसकेको एकता वार्ताहरुमा सहभागी एमाले उपमहासचिव बिष्णु पौडेलले स्वीकार गरे । एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य रहने भएपछि बाबुराम भट्टराईले सोही चिन्हबाट चुनाव लड्न चाहेको स्रोतले जनाएको छ । सूर्य चिन्हबाटै राजपाका बिद्रोही समूहका नेताहरु पनि चुनाव लड्ने भएका छन् ।
२००६ सालमा पुष्पलाल संस्थापक महासचिव भएर गठन भएको पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टीनै थियो ।