बाम गठबन्धनले काँग्रेसलाई फाईदा–प्रचण्ड

पोखरा, कार्तिक १० ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले वामपन्थी गठबन्धनले कांग्रेसलाई एकताबद्ध हुन सहयोग पुगेको बताएका छन् । शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै दाहालले बाम गठबन्धन कसैप्रति परिलक्षित नभएको भन्दै राष्ट्रिय आवश्यक्ता भएको बताए । ‘काँग्रेसीभित्रै ठूलो खाडल थियो । अव खाडल विस्तारै पुरिँदै गएको छ, उनले भने–हामी संगठित भएपछि काँग्रेस छोडेर नयाँ पार्टी खोलेकाहरु पनि घरमा फर्केका छन् । काँग्रेसले त हामीलाई धन्यबाद दिनुपर्छ ।’
बिजय गच्छदार कुमार खड्का लगाएतका नेताहरु काँग्रेसमा फर्किएका भन्दै अरु नेताहरु पनि काँग्रेसको गठबन्धनमा सहभागी हुने क्रम जारी रहेको उनले बताए । वैचारिक आस्थाभित्र रहेर वामपन्थीहरुको तालमेल र एकताको प्रयास गरेको र यसले देशको राजनीतिक स्थिरता र समृद्धिमा सहयोग पुगेको प्रचण्डको दावी छ ।
अब विचार मिल्ने शक्तिहरुको राजनीतिक ध्रुवीकरण र एकताको प्रकिया तीव्र बनेर जाने समेत उनले बताए । वाम गठबन्धनपछि राजनीतिक वृत्तमा अफवाह फैलिएको भन्दै दाहालले गठबन्धन लोकतान्त्रिक प्रकियाबाटै अघि बढ्ने स्पष्ट पारे । ‘कतिपय साथीहरुले लोकतन्त्र नै धरापमा र्पयो, अधिनायकवाद जन्मन्छ, साम्यवाद आई नै सक्यो जस्ता प्रचार गर्न थाल्नुभएको छ । त्यो कुरा बिल्कुलै सत्य होइन’, उनले भने, जसले जिते पनि संविधानको कार्यान्वयन गर्ने हो, संविधानको दायराभित्रै रहेर राजनीतिक प्रतिस्पर्धा गर्ने हो ।’
जसले बहुमत ल्याएपनि देशमा स्थायी सरकार हुने उनको धारणा छ ।