बाबुराम र नारायणकाजी–कसले जित्ला गोरखा-२

गोरखा, कार्तिक ६ ।
मंसिर १० गते हुने पहिलो चरणको चुनावमा सबैको ध्यान गोरखाले तानेको छ । दुई हेभिवेट नेताहरु एउटै क्षेत्रबाट चुनावी मैदानमा होमिएपछि यतिबेला गोरखाको चुनावी सरगर्मी समेत बढेको छ । गोरखा क्षेत्र नम्बर २ बाट नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र माओबादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ चुनावी भिडन्तमा छन् ।
एउटै पार्टीको शीर्षतहमा रहेर लामो समय सँगै काम गरेका दुई नेता अहिले पार्टी ध्रुविकरणले ठ्याक्कै विपरित बनेका छन् । दुबैजना वाम आन्दोलनका हस्ती एवं केन्द्रीय राजीनितिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने नेताहरु हुन् । तर, अबको चुनावले दुईमध्ये एक पराजीत हुनेछन् र प्रतिनिधीसभामा अयोग्य ठहरिनेछन् ।
दुई नम्बर क्षेत्रअन्तरगत पालुङटारका बाबुराम र जौवारीका नारायणकाजी बीचको बहुप्रतिक्षित भिडन्तलाई दुवै पार्टीले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । गोरखा–२ मा डा. बाबुराम भट्टराईलाई समर्थन गर्न माओवादी केन्द्रले नमानेपछि बाम गठबन्धनबाट बाहिरिएर उनी कांग्रेससँग सहकार्य गरी प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका हुन् । यसबापत क्षेत्र नम्बर १ र चारवटै प्रदेशमा नयाँ शक्तिले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्नेछ ।
साविकका २ नम्बर क्षेत्र र साविकको ३ नम्बर क्षेत्रको आधा भाग मिलाएर प्रतिनिधी सभाका लागि २ नम्बर क्षेत्र कायम भएको छ । गोरखामा कुल १ लाख ८९ हजार ४४८ मतदाता छन् । क्षेत्र नम्बर २ मा ९० हजार ८२६ मतदाता छन् । तिमध्ये २ नम्बर क्षेत्रको प्रदेश (क) मा ४३ हजार ५७५ र प्रदेश (ख) मा ४७ हजार २५१ मतदाता छन् ।
स्थानीय चुनावमा कसको कति भोट ?
गत बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय चुनावमा गोरखा क्षेत्र नम्बर २ भित्र पर्ने स्थानीय तहहरुमा पार्टीहरुले पाएको मतको हिसाव गर्दा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच खासै फरक छैन ।
गोरखा २ मा लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन जम्मा १३२ मतले मात्रै अगाडि देखिन्छ । तर, अबको चुनावमा उम्मेदवारको व्यक्तित्वका कारण स्थानीय चुनावको भन्दा केही फरक परिणाम आउन सक्ने अनुमान गरिएको छ ।
गत स्थानीय चुनावमा नेपाली कांग्रेसले यस क्षेत्रमा कुल १७ हजार ७० मत पाएको थियो भने नेकपा माओवादी केन्द्रले १७ हजार ८९४ मत पाएको थियो । त्यस्तै नयाँ शक्तिले ७ हजार ९०० र नेकपा एमालेले ७ हजार २०८ मत पाएको थियो ।
स्थानीय चुनावको यो मतका आधारमा हेर्दा कांग्रेस र नयाँशक्तिको कुल मत २४ हजार ९७० हुन्छ भने माओवादी र एमालेको २५ हजार १०२ मत हुन्छ । गोरखा–२ मा पालुङटार नगरपालिका सहित सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, सुलीकोट गाउँपालिका तथा गोरखा नगरपालिकाका ८ देखि १४ वडा समावेश छन् ।
पालुङटार नगरपालिमा गत स्थानीय चुनावमा कांग्रेसले ४ हजार ६९८ मत पाएको थियो । माओवादी केन्द्रले ४ हजार ४९१, एमालेले २ हजार ४१० र नयाँ शक्तिले ३ हजार ९७६ मत पाएका थिए । सिरानचोक गाउँपालिकामा कांग्रेसले ३ हजार ४०२ मत पाएको थियो भने एमालेले १ हजार ७४०, माओवादी केन्द्रले ३ हजार २३५ र नयाँ शक्तिले १ हजार ४३१ मत पाएका थिए ।
त्यस्तै अजिरकोट गाउँपालिकामा कांग्रेसले ३ हजार ३३, एमालेले ३ सय ४७, माओवादी केन्द्रले २ हजार ७०२ र नयाँ शक्तिले १ सय ५० मत पाएका थिए । सुलीकोट गाउँपालिकामा कांग्रेसले ३ हजार २२, माओवादीले ४ हजार ६५९, एमालेले ८ सय ८५ र नयाँ शक्तिले १ हजार १६ मत पाएका थिए ।
गोरखा नगरपालिकाको वडा नम्बर ८ मा कांग्रेसले ४९८, एमालेले ४०५, माओवादीले ४३९ र नयाँशक्तिले ४५५ मत पाएका थिए । वडा नम्बर ९ मा कांग्रेसले ४६७, एमालेले १७५, माओवादीले ३६६ र नयाँ शक्तिले १७७ मत पाएका थिए ।
वडा नम्बर १० मा कांग्रेसले ३६७, एमालेले ३७३, माओवादीले ३०९ र नयाँ शक्तिले १८२ मत पाएका थिए । वडा नम्बर ११ मा कांग्रेसले ३४७, एमालेले ३२७, माओवादी केन्द्रले ४२८ र नयाँ शक्तिले ६८ मत पाएका थिए ।
यस्तै वडा नम्बर १२ मा कांग्रेसले ५३६, एमालेले १२२, माओवादीले ४८७ र नयाँ शक्तिले २१ मत पाएका थिए । वडा नम्बर १३ मा कांग्रेसले ४०४, एमालेले ९७, माओवादी केन्द्रले ५६४ र नयाँ शक्तिले ३२८ मत पाएका थिए । र, वडा नम्बर १४ मा कांग्रेसले २९६, एमालेले ३२७, माओवादीले २१४ र नयाँ शक्तिले ९६ मत पाएका थिए ।
बाबुरामको आधार
पहिलो संविधानसभा निर्वाचनमा डा. भट्टराईले नेकपा माओवादीबाट सबैभन्दा लोकप्रिय मत हासिल गर्दै विजय हासिल गरेका थिए । त्यसयता ०७० को दोस्रो संविधानसभामा क्षेत्र नम्बर १ बाट पनि माओवादीबाटै चुनाव जितेका भट्टराईले अहिले कांग्रेसको समेत साथ पाएका छन् ।
स्थानीय चुनावको मतपरिणाम हेर्दा नयाँ शक्तिको संगठनात्मक भोटले मात्रै एमाले र माओवादी गठबन्धनलाई जित्न कठिन छ । तर, संगठनात्मक भोट कम भए पनि भट्टराई ‘हेवी वेट’ नेता हुन् । र, ग्रामीण क्षेत्रमा उनको क्रेज अझै उस्तै देखिन्छ ।
तथापि थोरै मतदाता रहेको पार्टीका उम्मेदवारका लागि धेरै मतदाता रहेको पार्टीको सबै मत खोस्ने सम्भावना कम हुन्छ । गत स्थानीय चुनावमा सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकाको वडा नम्बर ८ र १३ बाट पनि नयाँ शक्तिले सम्मानजनक मत पाएको थियो । यो बाबुरामका लागि केही सकारात्मक संकेत हो । तर, बाम गठबन्धनबाट चुनावमा जाने निर्णय र साता नवित्दै कांग्रेससँगको तालमेलले बाबुरामलाई केही अप्ठेरोमा पारेको भने पक्कै छ ।
तर, यो चुनावमा बाबुरामको व्यक्तित्वले प्रभाव पार्न सक्ने कतिपयको विश्लेषण छ । अर्को थरीको मत के छ भने माओवादी छाडेर नयाँशक्ति खोलेको अनि कहिले वाम त कहिले कांग्रेससँग तालमेल गर्न पुगेका कारण बाबुरामको लोकप्रियता खस्किएको छ । विगतमा कांग्रेस र नयाँशक्तिवीच तीतो सम्बन्ध रहेकाले त्यसको असर यो चुनावमा पर्न सक्ने र वामपन्थी एवं कांग्रेसहरुले बाबुरामलाई भोट नदिने दाबी एमाले र माओवादी केन्द्रका नेताहरुको छ । यसका साथै गोरखा जिल्ला वाम जनमत भएको ठाउँ भएकाले वाम गठबन्धनले नै जित्ने दाबी बाबुरामका विपक्षीहरुको छ ।
नारायणकाजीको आधार
माओवादीको आधार इलाकाको रुपमा परिचित गोरखा, दुई वर्षअघि बाबुरामले पार्टी छाडेसँगै स्थानीय चुनावमा निक्कै कमजोर देखियो । गोरखाका ११ मध्ये ९ स्थानीय तहमा कांग्रेसले जित्यो । सिरानचोक गाउँपालिका जौबारी घर भएका नारायणकाजीले यस क्षेत्र जित्ने मुख्य आधार भनेको सुलीकोट र सिरानचोक गाउँपालिकाको मत हो । सुलीकोटमा स्थानीय तह माओवादीले जितेको छ भने सिरानचोक नारायणकाजीको आफ्नै गृहक्षेत्र हो ।
त्यसो त बाबुरामको प्रभाव रहेको भनिएको पालुङटार नगरपालिकामा पनि माओवादीले स्थानीय चुनावमा नयाँ शक्तिले भन्दा ५ सय मत बढी र कांग्रेस भन्दा २ सय मत कम पाएको थियो । तथापि अहिले बाबुराम आफैं चुनाव लड्दाखेरि स्थानीय चुनावको मत हेरफेर हुन सक्छ ।
गोरखा नगरपालिकाका ७ वडामध्ये स्थानीय चुनावमा २ वटामा एमाले र २ वटामा माओवादीले जितेको छ । वडा नम्बर १० र १४ मा एमाले तथा ११ र १३ मा माओवादीले जितेको छ भने ७ मध्ये ५ वडामा एमाले माओवादीको मत जोड्दा कांग्रेस र नयाँशक्तिको मतभन्दा बढी छ ।
स्थानीय चुनावको मतलाई आधार मानेर विश्लेषण गर्दा माओवादी केन्द्र एक्लै पनि नेपाली कांग्रेसको हाराहारीमा देखिन्छ । यसमा एमालेको समेत मत थपिँदा नारायणकाजीको पल्ला स्वतः भारी हुने विश्लेषण माओवादी निकट नेताहरुको छ ।
यसका साथै नारायणकाजी आफैं पनि गोरखाकै बासिन्दा हुनु, उनले सादगी नेताको छवि बनाउनु र वाम एकतामा महत्वपूर्ण भूमिका खेलेको नेता भएकाले व्यक्तित्वको प्रभावले समेत थप भोट तान्न सक्ने बुझाइ माओवादी कार्यकर्ताहरुको छ ।
जे होस् गोरखा क्षेत्र नम्बर २ मा एमालेको साथ लिएर लड्न लागेका माओवादी नेता नारायणकाजी श्रेष्ठ र कांग्रेसको साथ लिएर लड्न लागेका पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईवीचको प्रतिस्पर्धा निकै रोचक र घोचक हुने कुरामा अब कुनै शंका छैन ।