बाबुराम भन्छन्–हिजो जडौरी लुगा लाएर हिड्नेहरु महाराज बने

पोखरा, जेठ ३ ।
समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको सरकारको आयू लामो नभएको बताएका छन् । सरकारले देशको हित हुने पक्षमा कुनैपनि काम नगरेकोले कम्युनिष्ट सरकार छिटै ढल्ने उनको टिप्पणी छ ।

‘जनताले जुन प्रकारको निराशा छ । देशमा कुशासन र भ्रष्टाचार चुलिँदै गयो । जनपक्षिय एउटा पनि काम भएन, उनले भने–यो नाममात्रैको कम्युनिष्ट हो । बास्तवमा यो भ्रष्टाचारी हो । अंशबण्डा नमिलेपछि कचिङ्गल सुरु हुन्छ ।’ अहिलेको काँग्रेस र कम्युनिष्ट पार्टीले देशलाई सही गन्तब्यमा पु¥याउन नसक्ने उनको ठोकुवा छ ।

‘कम्युनिष्टहरु बर्ग विहिन समाजवाद ल्याउँछु भन्थे । तर उनीहरुमा झनै ठूलो अराजनीतिक शक्ति पैदा हुने रहेछ । नयाँ बर्ग बन्दो रहेछ, उनले भने–हिजो चप्पल लाउन नसक्ने । तपाईंका घरदैलोमा आएर जडौरी लुगा लाएर हिड्ने साथीहरु अहिले जुन खालको महलमा बसेका छन् त्यो बर्ग पैदा भएको होईन ? तर जनताको अवस्था उही ठाउँमा छ । नेताहरु महाराज बनिसके । त्यसैले कम्युनिष्ट बिचारधाराबाट देशले गन्तब्य भेटाउन सक्दैन ।’

पोखरामा समाजवादी पार्टीको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले ५२ साल अघिका पार्टीले नेपाली राजनीतिको नेतृत्व गर्न नसक्ने बताए । ‘अव कांग्रेसको युग सकियो । उसले निजी स्वतन्त्रतामा आधारित लोकतन्त्र ल्याउन भूमिका खेलेकै हो । उसलाई धन्यवाद दिनुपर्छ । काँग्रेसमै समर्पित म्युजियम बनाएर राखौं । उसलाई गर्ने सम्मान त्यही हो, उनी भन्छन्–कम्युनिष्ट पनि अत्यन्त अलोकतान्त्रिक र अधिनायकबादी चरित्रतर्फ लागिरहेको छ । गणतन्त्रसम्म लैजानका लागि कम्युनिष्टले सहयोग गरेकै हो । तर कम्युनिष्टले पनि देशको नेतृत्व गर्ने दक्षता देखाएन । अव बैकल्पिक शक्ति चाहिन्छ । त्यो समाजवादी पार्टी हो ।’

भट्टराईले आफ्नो पार्टीको विरुद्ध गरिएको प्रचारमा काउण्टर दिन कार्यकर्तालाई आग्रह गरेका छन् । ‘सञ्चारको युग हो । कोही सन्कियो भने तुरुन्तै फेसबुक र ट्विटरमा हाल्दिन्छ । यसले हजारौं मान्छेको दिमाग खराव गर्छ । तपाईंहरु पनि सचेत हुनुपर्छ । कसैले गलत नियतले त्यस्तो गर्यो भने तुरुन्त काउण्टरमा लाग्नुपर्छ । सबै साथीहरु सक्षम भएर लाग्नुस्, उनले भने–हरेक काममा प्रतिक्रिया हुन्छ । हाम्रा विरुद्धमा दुस्प्रचार गरिरहेका छन् । त्यो अपेक्षाकृत छ । तर हिजो बन्दुकसंग खेलेर आएको मान्छे शब्दसंग को डराउँछ ?’

उनले प्रदेश २ लाई आधार बनाएर पार्टीको विस्तार गर्ने योजना सुनाएका छन् । पार्टीका भ्रातृ र जनबर्गिय संगठनहरु कार्यविधि बनाएर केही समयभित्रै पूर्ण बनाउने उनको भनाई छ । भट्टराईले काँग्रेस र कम्युनिष्ट बाहेक सबैसँग एकता हुनसक्ने भन्दै केही पार्टीहरुसँग आन्तरिक छलफल भैरहेको बताए ।