बाबुराम भट्टराई पोखरा आउँदै

पोखरा, कार्तिक १३ ।
नयाँशक्ति पार्टीका संयोजक तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यतर्फका प्रत्येक्ष उम्मेदवार डा. बाबुराम भट्टराई सोमबार (आज) पोखरा आउने भएका छन् । पोखरामा रहेका गोरखाली समुदायसँग भेटघाट र आफ्ना चुनावी योजनाबारे भलाकुसारी गर्न उनी पोखरा आउन लागेका हुन् ।
सोमबार साँझ ५ बजे सिर्जनाचोकमा रहेको होटल साइमनमा भट्टराईसँग गोरखालीले भेटघाट गर्ने कार्यक्रम रहेको कार्यक्रमको संयोजन गरिरहेका गोरखा मिलन समाज पोखराका उपाध्यक्ष तथा होटल ब्यवसायी तिलक तिवारीले जानकारी दिए ।
डा. भट्टराई नेपाली काँग्रेससँगको सहकार्यमा गोरखामा उम्मेदवार बनेका हुन् । काँग्रेसले क्षेत्र नम्बर २ मा भट्टराईलाई सघाउनेछ भने नयाँशक्तिले १ नम्बर क्षेत्रमा काँग्रेसका उम्मेदवार चिनकाजी श्रेष्ठलाई सघाउनेछ । प्रदेशतर्फ काँग्रेसले ३ र नयाँशक्तिले १ सीट बाँडेका छन् ।