बाबुरामले भने–काँग्रेसलाई धोका दिन्न

गोरखा, मंसिर २५ ।
नेपाली कांग्रेसको आडमा गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले यो संसद अवधिसम्म नेपाली कांग्रेस लाई धोका नदिने प्रष्ट पारेका छन् । कम्युनिष्ट विचार छाडेको बताएपछि फेरि वाम गठबन्धनमा फर्केका र पुनः सो गठबन्धनबाट अलग्गिएकाले ढुलमुले चरित्र देखाएको आरोप लाग्ने गरेका भट्टराईले निर्वाचित भएपछि ‘राजनीतिक धर्म’ पूरा गर्ने वचनबद्धता गरे ।
‘एउटा राजनीतिक नैतिकता के हुन्छ भने यो संसदको अवधिसम्म हामीले सहकार्य गरी जानुपर्छ,’ उनले कांग्रेससँगको आफ्नो गठबन्धनबारे भने, ‘संयुक्त रुपमा विजयी भएर गएपछि महत्वपूर्ण विषयमा हामीले सहकार्य गर्नुपर्छ । यो राजनीतिक धर्म हो ।’
आफू नेपाली कांग्रेसको पनि प्रतिनिधि भएको बताउँदै भट्टराईले ढुक्क रहन कांग्रेसलाई आग्रह गरेका छन् । जुनसुकै सरकार बनेपनि त्यो सरकारलाई गुणको आधारमा सहयोग, दोषको आधारमा असहयोग गर्ने उनले बताए ।
भ्रष्टाचारजन्य गतिविधिमा मुछिएर गोरखाली जनताको शीर निहुराउने काम कहिल्यै नगर्ने उनले बताए । उनी भन्छन्, ‘म प्रत्येक महिना आफ्नो निर्वाचन क्षेत्र आउँछु, जनताको समस्या सुनेर समाधान गर्छु । समस्या सुन्न सम्पर्क कार्यालय खोल्छु, २४ सै घण्टा उपलब्ध हुने गरी हटलाइन सेवा राख्छु ।’ बाबुराम नेपाली काँग्रेसको सहयोगमा गोरखा २ मा उम्मेदवार बनेर विजयी भएका हुन् ।