बाबालाई भन्दिन्छु ………………..
दुर्गा कार्की
बाबा, म यी कुराहरू भन्दैछु किनकि त्यस दिन, निम्बुखेडा खोलानजिकै मेरो साइकल ढलेपछि जब उनीहरूले मलाई पाखुरामा च्याप्प समातेर घिसार्दै उखुबारीतिर लगे, मैले धेरै डर र त्योभन्दा धेरै खबरदारीको शैलीमा रुँदै भनेकी थिएँ, ’छोड् मलाई ऽऽऽऽऽऽऽऽऽ…बाबालाई भन्दिन्छु म ऽऽऽऽऽऽऽ…’
ममाथि ३ जना राक्षस पालैपालो जाइलागिरहँदा उखुबारीका चराहरू उडे, फट्याङ्ग्राहरू उफ्रिएर वल्लो डाँकबाट पल्लो डाँकमा हाम्फाले। ती हरेक जीवमा मैले तपाईंको अनुहार देखेँ। चल्न सक्ने हरेक जीवसँग मैले त्यति बेला हारगुहार मागेँ, ’मेरो बाबालाई भनिदेओ न…प्लिज…’
तपाईंले कसरी सुन्नुभएन बाबा?
’त्यो बाटो नहिँडो है,’ केही महिनाअघि एकसाँझ खाना खाने बेला तपाईंले भन्नुभएको थियो।
’क्याइ बाबा?’
मैले अचम्म मानेर सोधेकी थिएँ, किनकि मलाई त्यो बाटो मनपर्थ्यो। आमाको मोबाइल उम्काउन सकेका दिन कानमा इअरफोन कोचेर हिन्दी गीत बजाउँदै म साइकलमा चराजस्तै बत्तिन्थेँ। त्यति बेला मेरो अनुहार हुँदै बहेर जाने चिसो हावा, त्यो हावाले फर्फराउने मेरो कपाल मलाई खुब मनपर्थ्यो।
’छेडो छ, सुनसान । केही भइहाल्यालै हारगुहार नसुनिन्या ।’
त्यही बाटो बिहान दूध पुर्याउन बजार हिँडेका श्याम अंकलको जेब लुटिएको कुरा सुनाउँदै तपाईंले भन्नुभएको थियो।
कति सुनसान ?
मैले सोधिनँ ।
कति सुनसान ?
तपाईंले पनि भन्नुभएन ।
’कति चर्की हो? स्कुलमा बोल्याको घरसम्म सुनिन्छ ।’
आमा घरिघरी भनिरहनुहुन्थ्यो ।
तपाईंले सुनसानको कुरा गर्दा मैले सोचेकी थिएँ, मेरो आवाज त जताबाट पनि सुनिन्छ ।
एउटी १३ वर्षे बालखाको रोदन र चिच्याहटसमेत नसुन्ने गरी सुनसान त्यो ठाउँ होला, मलाई थाहा थिएन ।