बाजुरामा जिप पल्ट्यो, २ जनाको मृत्यु

बाजुरा, फागुन ८ ।
बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला ओदानचुली गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु खत्याड गाउँपालिका– ८ का ४५ वर्षीय कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेमा बूढीनन्दा नगरपालिका–९ का सत्य माविका शिक्षक तथा नेपाल शिक्षक महासंघका अध्यक्ष जनकबहादुर शाही, गौमुल गाउँपालिका– ६ का गोरखबहादुर रोकाया, हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का खडक रोकाया, स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगरका २५ वर्षीय कर्णबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।
घाइते भएकामध्ये स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगर गाउँपालिकाका कर्णबहादुर रोकायाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक वलीले बताए । गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि अछामको बयलपाटा रिफर गरिएको प्रहरीले जनाएको छ । कोल्टीबाट मार्तडी आउँदै गरेको से १ ज ९४० नं को जिप जिल्ला स्वास्थ्य कार्यालयको परिसरबाट ५० मिटर तल साँफे–मार्तडी राजमार्गमा खसेको थियो । गाडी चालक भने फरार छन् ।