बागलुङमा बसपार्कको विजोग

बागलुङ, भदौ २९ ।
ब्यवस्थित बसपार्क बनाउन बागलुङ बजारका बासिन्दाले ५९ रोपनी जग्गा निशुल्क दिए । जग्गा दान गरेर पनि बसपार्कको बिजोग सहनुपरेको १६ बर्ष बित्यो । बसपार्कको हालत अहिले पनि उस्तै छ । बजारका ५२ ब्यक्तिले करोडौं मूल्य पर्ने जग्गा दिएका छन् । तर जमिन उपभोग हुन सकेन । राष्ट्रिय गौरवका दुई आयोजना मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोरको निर्माणसँगै बागलुङ बजारमा गाडीको चाप बढ्दो छ ।
बढ्दो चाप व्यवस्थापन गर्न बजारमा सरकारी जग्गा नभएपछि बानपा–४ दावगरामा ५२ जनाको निजी खेतमा बसपार्क निर्माण गर्ने योजना बनाइएको थियो । स्थानीयले नगरपालिकालाई दिएको जग्गामध्ये ५० प्रतिशत बसपार्कको काम भइसकेपछि विकसित घडेरी बनाएर जग्गादातालाई फिर्ता गर्नुपर्ने सहमति भएको थियो । नगरपालिकाले २०५९ भदौमा जग्गा प्राप्ति गर्ने जग्गादाताको सहमतिअनुसार जग्गादाताले २०७१ माघमा साढे १७ रोपनी जग्गा नगरपालिकाको नाममा पास गरिसकेका छन् ।
तर बागलुङ नगरपालिकाको उदासिनताका कारण बसपार्क बन्ने आशा तुहिँदै गएको छ । बरु उनीहरु अहिलेपनि बसपार्कको अस्तव्यस्त अवस्थाले चिन्तित छन् । बागलुङ नगरपालिका क्षेत्रभित्र बसपार्क निर्माणका लागि जग्गा व्यवस्थापन समिति र नगरपालिका कार्यालयबीच भएको १२ बुँदे लिखित सम्झौता कार्यान्वयनमा नआएको भन्दै जग्गाको दुरुपयोग भएको यातायात ब्यवसायी समिति बागलुङका अध्यक्ष सुवाषचन्द्र राजभण्डारीले बताए ।
बसपार्क निर्माण गर्न २०७१ सालमा भएको दुई पक्षबीचको सम्झौताअनुसार ६ महिनाभित्र बसपार्क निर्माण तथा बाँकी जग्गा व्यवस्थापनसहितको एकीकृत गुरुयोजना निर्माण गर्ने र ४ बर्षभित्र बसपार्क निर्माण सम्पन्न गनुपर्छ । तर सहमतिबमोजिम काम अगाडि नबढेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । शहरीकरणसँगै बागलुङमा यातायातको चाप बढेको छ ।
“अहिले बसपार्क बनाउनका लागि १२ करोड, १६ करोड र २० करोडका तीनवटा डिजाइन इस्टिमेट तयार भएका छन् । नगरपालिकाले निर्णय दिएपछि मात्रै निर्माणको काम सुरु हुने बागलुङ ४ का वडाअध्यक्ष एवं जग्गा व्यवस्थापन तथा विकास समितिका सचिव ध्रुवबहादुर केसीले बताए । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि बनेको नगरकार्यपालिकाले बसपार्क व्यवस्थापनका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको छ । केसीका अनुसार नगरपालिकाबाट विनियोजन भएको रकमले डिजाइन इस्टिमेट, जग्गादाता ५२ जनालाई आधुनिक घडेरीको रूपमा कित्ता काट गरेर जग्गा हस्तान्तरण लगायतका कार्य सम्पन्न हुनेछ ।
एकीकृत रूपमा व्यवस्थापन गरिएको ५९ रोपनी जग्गामध्ये बसपार्कका लागि आवश्यक पर्ने साढे १७ रोपनी जग्गाबाहेकको जग्गालाई आधुनिक रूपमा व्यवस्थापन गरी सबै जग्गादातालाई वितरण गर्ने नगरपालिकाको योजना छ । नगरपालिकाले बसपार्कलाई आधुनिक एवं प्रविधियुक्त बनाउनका लागि दुईवटा ट्रमिनल भवनसहितको डिजाइन स्टिमेट तयार भएको बागलुङ नगरपालिकाका योजना अधिकृत युक्तप्रसाद सुवेदीले बताए ।