बागलुङमा धारो उद्घाटन गरेको फोटो कसरी भयो भाईरल ? (बास्तविकता के हाे ?)

बाग्लुङ, भदौ ५ ।
समाजमा जे भयो त्यो वास्तविकता नलुकाएको एउटा दृश्य देखियो बाग्लुङमा । प्रसङ्ग हो– सामाजिक सञ्जालमा भाइरल बनेको धारो उद्घाटन । दृश्य थियो भदौं २ गते बाग्लुङ नगरपालिका वडा नम्बर ७ स्थित साविकको मूलपानी गाविसमा कैगले ढिकीचौर खानेपानी योजनाको उद्घाटन समारोह । दृश्य हेर्दा हाँसो उठ्ने तर गहिरिएर सोच्दा हाम्रो समाजको वास्तविकतालाई उजागार गर्ने दृश्यले हामी कस्तो मानसिकता र कस्तो विकासको मोडलमा छौँ भन्ने प्रतिविम्बित गर्छ ।

बागलुङ नगरपालिका भित्रको यो गाउँ सबैभन्दा विकट हो । २०४८ सालदेखि लुथ्रन वल्र्ड भने एक विदेशी संस्थाले यहाँको खानेपानी योजना सुरु गरेको हो । तर बीचमा योजना त्यतिकै बिच्किएपछि यहाँका बासिन्दा निरास थिए । यस पटकको निर्वाचनपछि बाग्लुङ नगरपालिकाले हाम्रो खानेपानी समस्यालाई गम्भीर रूपले लियो ।

नगरपालिकाले ५ लाखभन्दा बढी रकम पारिदिएपछि यहाँका प्रत्येक घरधुरीले ५ हजारका दरले रकम उठाए । सबै गरेर करिव १३ लाख भयो । १ सय ६ घरधुरीमध्ये बसाइँसराइ गरेर आएकाहरूले अलि बढी तिर्नुपर्यो । लिफ्टसमेत गरेर माथिका १० घरधुरीसम्म पानी पुर्याएको उपभोक्ता समितिका अध्यक्ष होमनाथ गौतमले बताए ।

तर जुन तस्बिर सामाजिक सञ्जालमा भाइरल बनाइयो, त्यो तस्बिर कार्यक्रम स्थलमा टाँगिएको त्रिपालको बाँसमा तत्काल उद्घाटन प्रयोजनका लागि मात्रै थियो । तस्बिर भाइरल बनाउनुको कारण नभएको उनी बताउँछन् । ‘वडाका काँग्रेस सभापति शशीधर उपाध्यले माथि (ट्याङ्की) मै उद्घाटन गरौँ भन्नुभएको थियो । हामीले कार्यक्रम स्थलमै गरौँ भनेर झरियो, उनले भने–कार्यक्रममा धेरै तामझाम र समय बढी नलम्ब्याऊँ भन्ने सोचेर हामीले कुनै पनि राजनीतिक दलको तर्फबाट बोल्न नलगाई बरु उपभोक्ताहरूले हालसम्म भोगेको पीडा बोल्न लगायौँ । उहाँहरूले आँखाबाट आँशु झारेको दृश्यले अतिथिहरू भावुक हुनुभएको थियो ।’

आफू बोल्न नपाएको असन्तुष्टि सभापति उपाध्यायले ब्यक्त गरेको भन्दै छोरालाई लगाएर फोटो भाइरल बनाएको उनको आरोप छ । ‘जनताको घरघरमा पक्की धारा दिन सकिएको छैन तर काङ्ग्रेस सभापतिले माथि पक्की ट्याङ्कीमा उद्घाटन गराउन भनेको कुरा हामीले न चाहेकै हो, उनले थपे–रियालिटी दिन खोजेकै हौँ । हामीले कार्यक्रमको खाजा खर्चसमेत कम गरेका छौं ।’

नेपाली काँग्रेसका शशिधर उपाध्यायले चाहीँ एमालेले हरेक कुरामा एकलौटी गरेको आरोप लगाए । ‘कसैका पनि घरमा धारा छैनन् तर उनीहरूले घर घरमा धारा भनेर प्रचार गरेको हामीलाई चित्त बुझेको छैन । हामीले २०४८ सालदेखि लुथ्रन सेवा समाजबाट खानेपानीको काम सुरु गरेका हौँ, उनले भने–साविकको गाविसदेखि रकम छुट्याउँदै आएका हौं । अहिले वडामा नगरपालिकाले ४ लाख ३५ हजार रकम छुट्यायो । त्यसबाट यति काम भएको तर उनीहरूले सम्पन्न नहुँदै सम्पन्न भयो भनेर गलत प्रचार गरे ।’

मेयर जनकराज पौड्याल पनि गलत प्रचार गरिएको गुनासो गर्छन् । ‘मलाई यसप्रति अनौठो लागेको छ । त्यहाँका १ सय ६ घरधुरीमा पानी त पुग्यो तर धारा बनाउन त्यो रकमले नपुगेको रियालिटी दिन हामीले खोजेका हौं । समाजको वास्तविकता लुकाउने राजनीतिक दलका मान्छे हामी परेनाँै, उनले भने–विकट गाउँ हो त्यो । त्यहाँ पानीको हाहकार र मोटरबाटोको समस्यदेखि हरेक कुरामा हामी चिन्तित छौँ । गत आर्थिक वर्षमा छुट्याइएको रकम र मापदण्ड अनुरूपको काम सम्पन्न भएकै हो ।’

गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले जनस्तर देखाउनका लागि नै दुख लुकाउन नसकेको बताए । ‘काँग्रेस सभापतिले माथि पक्की ट्याङ्कीमा उद्घाटन गरौं भन्दै हुनुहुन्थ्यो । आयोजकहरूले रियालिटी दिन खोजेर कार्यक्रम स्थलमा टाँगिएको चारवटा बाँसका खम्बमध्ये एउटामा बिछ्याइएको पाइपमा उद्घाटन प्रयोजनको लागि मात्र धारा फिट गरेर उद्घाटन गरिएको हो, उनले भने–समाजको त्यो रियालिटी हामीलाई पनि ठीक लाग्यो । देशको विकासक्रम नै त्यस्तै छ भने किन लुकाउने ? किन जनतालाई ढाँट्ने ?’ जनताको काम गरेर मन जित्न आग्रह गर्दै उनले अत्तालिनुपर्ने अवस्था नरहेको बताए ।