बागलुङमा दक्षिण एसियाकै लामो झोलुङ्गे पुल

पोखरा, पुस २८ ।
झोलुङ्गे पुलको जिल्लाको नामले परिचित बागलुङ जिल्लामा दक्षिण एसियाकै सबैभन्दा लामो पुल बन्दैछ । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको पाङ अदुवाबारी जोड्ने निर्माणाधिन एशिया कै लामो झोलुङ्गे पुलका लठ्ठा भएको दावी छ ।

५ सय ६७ मिटर लामो झोलुङ्गे पुलको मुख्य लठ्ठा जोडिएको छ । पुलका लागि आवश्यक अन्य भौतिक संरचना तयार भैसकेको छ । कालिगण्डकी नदीमाथि बन्दै गरेको झण्डै एक सय ३० मिटर अग्लो झोलुङ्गे पुल चैतसम्म बनिसक्ने निर्माण कम्पनीका प्रतिनिधि नरहरी खड्काले बताए ।

यो पुललाई भ्रमण बर्षको नयाँ आकर्षणको रुपमा विकास गर्ने गरी काम भैरहेको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले जानकारी दिए । पुल बनेपछि बागलुङ बजारसँग व्यवसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिका, जलजला गाउँपालिका क्षेत्रका नागरिकलाई पनि सहजता मिल्नेछ ।

७ करोड ९७ लाख रुपियाँको लागतमा निर्माण सुरु गरिएको पुलको ९२ प्रतिशत काम सकिएको छ । २०५५ सालदेखि नै यो ठाउँमा पुल बनाउने कुरा चलेपनि अहिलेसम्म पूरा भएको थिएन ।