बाँदरबाट बँच्न गण्डकी सरकारको जुक्तीः घाँसखेती लगाउने, पशुपालन गर्ने

पोखरा, असार ३ ।
अहिले देशका अधिकांश भुगोलमा बाँदर आतंक छ । कतिपय बस्तीहरु बाँदरकै कारण खाली भएका छन् । लगाएको खेती किसानले समयमा भित्र्याउन पाउँदैनन् । जसका कारण किसानहरु हैरान छन् भने गाउँहरु रित्तिन थालेका छन् ।

यस्तो विषम अवस्थालाई ख्याल गर्दै गण्डकी सरकारले नयाँ जुक्ती निकालेको छ । बाँदर प्रभावित क्षेत्रमा घाँसखेती गरेर पशुबस्तु पाल्न किसानलाई प्रेरित गर्ने कार्यक्रम अघि सारिएको हो । प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी भन्ने नाराका साथ ११ वटै जिल्लामा यस्तो कार्यक्रम लैजाने अर्थमन्त्री जित प्रकाश आलेले बताए ।

‘हरेक गाउँमा जाँदा किसानको दुखेसो बाँदर नियन्त्रणमै छ । बाँदरले फसल भित्र्याउन नदिएपछि धेरै किसानले गाउँ छोड्ने अवस्था आयो,’ उनले भने, ‘गण्डकी सरकारले अव बाँदर प्रभावित क्षेत्रमा घाँसखेती गर्ने र पशु पाल्न किसानलाई प्रेरित गर्नेछ ।’

यसका लागि सरकारले आगामी वर्षमा खर्च हुने गरी १ करोड ५२ लाख रुपैयाँ विनियोजन गरेको छ । यसअघि पनि विभिन्न पालिकाहरुले बाँदर नियन्त्रणका प्रयास नगरेका होइनन् । तर कुनै पनि पालिका सफल भएनन् । अहिले बागलुङको जैमिनी नगरपालिकाले बाँदर पार्क नै निर्माण गर्न लागेको छ ।

कृषि जानकारका अनुसार अहिले अधिकांश गाउँका जमिन बाँदर आतंककै कारण बाँझो भएको छ । बाँदर नियन्त्रणका अन्य प्रयास पनि गरिने गण्डकी सरकारले जनाएको छ । यद्यपी कस्तो कार्यक्रम भन्ने खुलेको छैन ।