बहिनीको मलामी जाँदै गर्दा बाटैमा दाजुको मृत्यु

तनहूँ, पुस १५ ।
शुक्लागण्डकी महोत्सव हेरेर फर्कंदै गरेकी ऋषिङ ७ दधिवनकी युवतीको मोटरसाईकलबाट खसेर म्याग्देको निर्मलबस्तीमा ज्यान गयो । बहिनीको मृत्यु भएपछि मलामीका लागि आएका दाजुको बेहोस भएर ज्यान गएको छ ।

ऋषिङ ७ कै ४४ वर्षका भक्तबहादुर थापा म्याग्देको निर्मलबस्ती नजिकै ग ११ प ५५०२ नम्बरको मोटरसाईकलबाट खसेर ज्यान गुमाएकी बहिनी प्रमिशा थापाको दाहसंस्कारको तयारीका लागि दमौली आएका थिए ।

उनी दमौली अनशन चौतारा नजिकै आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालय अगाडि एक्कासी बेहोस भएर लडेका थिए । उनलाई उपचारका लागि दमौली अस्पताल लगिएको थियो। दमौली अस्पतालमा चिकित्सकले मृतक घोषणा गरे ।

मोटरसाइकलबाट खस्दा प्रमिशाको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि दमौलीको रत्नहरि अस्पताल ल्याइएको थियो । थप उपचारका लागि पोखराको मणिपाल अस्पताल लगेपछि उपचारका क्रममा उनको ज्यान गएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले बताए ।–अन्नपूर्ण पोष्टका लागि तनहूँबाट पत्रकार पवन पौडेलले खवर लेखेका हुन् ।