बलात्कार आरोप लागेका तनहूँका वडाध्यक्षलाई कारबाही गर्न सांसदको माग

पोखरा, साउन १५ ।
बलात्कारी आरोप लागेका तनहूँ घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षलाई तत्काल कानुनी कारबाहीका लागि सदनमा माग गरिएको छ । सांसद सरिता गुरुङले वडाध्यक्ष शक्तिको आडमा फरार रहेको र शक्तिकै आडमा पक्राउ गर्ने र कारबाहीका लागि कुनै प्रक्रिया नअपनाईएको भन्दै तत्काल कानुनी कारबाही गर्न माग गरिन् ।

४ महिनाअघि वडाध्यक्ष झकबहादुर कुमालले नवलपुर डेढगाउँकी सुकुमाया कुमाललाई बलात्कार गरेको आरोप छ । सुकुमायाले वडाध्यक्ष विरुद्ध किटानी जाहेरी दिएकी छिन् ।

‘पीडित अहिले पनि न्यायको खोजीमा भौतारिएको अवस्था छ । वडाध्यक्ष शक्तिको आडमा फरार छन्, सांसद गुरुङले भनिन्–जो रक्षक उही भक्षक भए दिदी बहिनीहरुको दैनिकी मुश्किल भैरहेको छ । जतिसक्दो छिटो कानुनको कठघरामा ल्याउनका लागि आग्रह गर्दछु ।’

प्रहरीले चाहीँ घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ । श्रीमानले विदेशबाट पठाएको रकम बैंकबाट झिकेर र्फकने क्रममा गत वैशाख २५ गते दिउँसो नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला डेढगाउँको वनमा लगि वडाध्यक्ष कुमालले जबर्जस्ती गरेको महिलाको दावी छ ।