बर्षदिन पनि टिकेनन् पोखराका पीच

प्रकाश ढकाल
पोखरा, कार्तिक १७ ।
पोखरा महानगरपालिकाको वडा नम्बर १६ लामाचौरदेखि १९ पुरुञ्चौर हुँदै माछापुच्छ«ेसम्म जोड्ने सडक अघिल्लो बर्ष पीच भयो । साविक जिल्ला विकास समितिले एसएनआरटिपी कार्यक्रम मार्फत सडक पीच गरेको हो । तर पुग नपुग एक बर्षमै बाटोमा गाडी चल्नै नसक्ने गरि छियाछिया भैसकेको छ । पोखराकै सराङकोटदेखि कास्कीकोट हुँदै अन्नपूर्ण गाउँपालिकाको नाउडाँडा निस्किने सडकको पनि दर्जनौं ठाउँमा पीच भत्किएको छ । उता छोरेपाटन देखि कृष्ती हुँदै निर्मलपोखरीबाट भरतपोखरी निस्किने बाटो पीच गरेकै भोलिपल्ट देखि उप्किन थालेको थियो ।

लामाचौर–माछापुच्छ«े सडकमा ७ करोड रुपैयाँ लगानी भएको छ भने छोरेपाटन–कृष्ती–निर्मलपोखरी–भरतपोखरी सडकमा २१ करोड ६८ लाख र सराङकोट–कास्कीकोट–नाउडाँडा सडकमा १० करोड रुपैयाँ लागत लागेको छ । अहिले रुपाकोट–थुम्की सडकको काम पनि भैरहेको छ । यही असारभित्र काम सक्ने गरि टेण्डर निकालेर काम थालिएको पूर्वाधार विकास कार्यालय कास्कीका सिनियर डिभिजनल इन्जिनियर नारायण बरालले जानकारी दिए । यो सडकमा पनि १२ करोड रुपैयाँ निकासा भैसकेको छ ।

गुणस्तरमा ध्यान नदिँदा आधा अर्व भन्दा बढी रकम दुरुपयोग भएको छ । चारवटै सडक निर्माणका लागि ५० करोड ६८ लाख रुपैयाँ खर्च लागेको छ । डिजाईन मै त्रुटी भएका कारण सडक भत्किएको बराल बताउँछन् । ‘अहिलेका चारवटै सडक ओटासिल हो । तर अहिले नै भत्किने बेला चाहीँ भएको छैन, उनले भने–पोखरामा बर्षा ठूलो हुन्छ । पानी बग्ने ड्रेन सानो छ । सानो बर्षा हुने वित्तिकै सडकबाट भेल बग्छ । पानी सडकको लागि शत्रु हो ।’ ओटासिल गरिएका सडकमा ठूला गाडी गुडाउन नमिल्ने उनको भनाई छ ।

‘ओटासिल साना र कम गाडी गुड्ने ठाउँमा मात्रै गर्नुपर्ने हो । तर कास्कीमा चाहीँ अवस्थाको अध्ययन भएको देखिएन, उनले थपे–यी सडकमा ग्राभेलमाथी बिटुमिन छर्केर सिल गर्ने हो । खासै टिकाउ पनि हुँदैनन् । त्यसैले ठूला र धेरै गाडी गुडाउन मिल्दैन ।’ उनका अनुसार राजमार्गमा पीच गर्नका लागि प्रतिकिलोमिटर २५ करोड हाराहारीमा खर्च हुन्छ । अहिले बनेका कास्कीका ओटासिल सडकमा ९० लाख रुपैयाँ प्रतिकिलोमिटर काम भैरहेको । ‘हेर्दा पीच भन्छन् तर पीच होईन । खर्च निकै कम छ । ड्रेनले पानी थेग्दैन, उनी भन्छन्–हामी त स्टिमेट अनुसार जे छ त्यही काम गर्ने हो । नेपालमा ओटासिल उपयुक्त छैन । यसको विकल्प खोज्नुपर्छ ।’ भत्किएका सडक एकबर्षभित्र निर्माण कम्पनीले नै मर्मत सम्भार गर्ने उनको भनाई छ ।

तर स्थानीयले चाहीँ ठेकेदारले लापरबाही गरेका कारण सडक छिटो भत्किएको आरोप लगाएका छन् । ‘माटोमाथी अलकत्रा छरेर पनि पीच हुन्छ ? न राम्रो ग्राभेल छ । न पानीको निकास छ, निर्मलपोखरीका एक स्थानीयले भने–लापरबाहीले नै बाटो भत्किएको हो । पैसा अनुसार काम भएको छैन ।’ ८ वटा सडकलाई ओटासिल गर्ने गरि सम्झौता भएको एसएनआरटिपी परियोजनाले ४ वटा सडकमा मात्रै काम गरेको छ ।

बजेट कम भएको भन्दै बाँकी ४ वटा सडकमा काम नगर्ने निर्णय भएको ईञ्जिनियर नारायण बरालले जानकारी दिए । कास्कीका रणनैतिक महत्वका कच्ची सडकहरुलाई कालोपत्रे गर्ने भन्दै २०७० सालदेखि काम थालिएको हो । यो परियोजना मार्फत डिपिआर भएर पनि बैदाम—पामे—घाटिछिना, कसेरी—भैंसे, काहुँखोला—दुधपोखरी र घट्टेखोला–धम्पुस सडकमा काम सुरु नै भएन ।

रुपाकोट–थुम्कीको काम सकिएपछि ५५ किलोमिटर सडकमा ओटासिल हुनेछ । हालसम्म ४२ किलोमिटर सडकको काम सकिएको छ । यसअघि १ सय १४ किलोमिटर सडक कालोपत्रे गर्ने योजना थियो । तर एसियाली विकास बैंकले अरु सडकमा काम गर्ने पैसा नभएको भन्दै निकासा रोकिदिएको हो । आरएआईडिपी परियोजना सकिएलगत्तै त्यसैको दोस्रो चरणको रुपमा एसएनआरटिपी कार्यक्रम भित्रिएको थियो । सडकमा ओटासिल सँगै पोल्याङटार–थुम्की–रुपाकोट सडक खण्डमा पर्ने आँपुखोला पुल निर्माण भएको छ । करिब २ करोड लागतमा पक्की पुल निर्माण गरिएको हो । स्तरोन्नति गरिएका ४ वटै सडक ५ मिटर फराकीलो छ ।