बतासको नमुना भिलेजः अगरउडको खेती, समाबेशी बस्ती

पोखरा, असार १९ ।
व्यवसायिक घराना बतास कम्पनीले गण्डकी प्रदेशमा मोडेल भिलेज बनाउने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका २ भयरचौरमा अर्गानिक कृषि सहितको समावेशी गाउँ निर्माण गर्न लागेको हो । गन्धर्वको तीन परिवार, विश्वकर्मा, दर्जी, सार्की, गुरुङ–मगर, ब्राह्मण, क्षेत्री र नेवार समुदायका एक÷एक परिवारलाई सँगै राखेर १० परिवारको नमुना गाउँ बनाउन लागिएको हो ।

यसका लागि परिवारको आवेदन आह्वान गरिएको छ । प्रति परिवार ३२ हजार तलव सहित बीमा र विभिन्न सुविधा उपलब्ध गराईने कम्पनीले जनाएको छ । जर्सी गाई, कुखुरा, हाँस, कुकुर, विरालो, बाख्रा, मौरी, परेवा लगायतका पशु पंक्षी पनि बतासले उपलब्ध गराउने छ । प्रत्यक परिवारलाई तरकारी फलाउन १ रोपनी र धान फलाउन ३ रोपनी जग्गा दिईने छ ।

पशुपालनबाट हुने आम्दानीको ६० प्रतिशत किसान परिवारले पाउने छ भने ४० प्रतिशत बतास एग्रो प्रालिमा जम्मा हुने अध्यक्ष आनन्दराज बतासले जानकारी दिए ।

जग्गा बाहेक १० करोड लगानी हुने उनले सुनाए । ‘१० हजार अगरउड उत्पादन गर्दै छु । त्यो १२ वर्ष पछि एउटाको २५ लाख पर्छ । २ सय प्रजातिको फलफूल रोप्दै छु,’ उनले भने, ‘२ सय केभिएको सोलार प्यालन राखिने छ । सबै घरहरु ढुंगामाटोको बन्छ । यो वातावरणमैत्री हुन्छ । अर्गानिक गाउँको रुपमा यसलाई विस्तार गर्न खोजेको छु ।’ अगरउड विश्वकै सबैभन्दा महंगो रुख हो । यो रुख धार्मिक रुपमा निकै महत्वपूर्ण हुन्छ । यसबाट अत्तर समेत बनाईन्छ ।

२ वर्षअघि देखि गाउँ निर्माणको काम भैरहेको छ । ‘नेपालमै यसलाई उदाहरणको रुपमा यो गाउँ बनाउन लागेको हो । २ करोड खर्च गरेर तारजाली लगाईएको छ,’ उनले थपे, ‘किसानलाई तलव बाहेक थप सुविधा छ । ठूलो फाँटमा धान रोपेर खान पाउछन् । मौरी पालन सुरु भैसकेको छ । उनीहरु स्टाफ होईन कि २ सय रोपनीमा गाउँ बनाउन खोजेको हो ।’