बच्चालाई सडकमा छोडेर आमा बेपत्ता, बच्चा माग्नेको भिड

पोखरा, जेठ ३० ।
बिहानको पोखरा ७ शान्तिनगर चोक नजिकैको एक सटर अगाडी सुताएर राखेको अवस्थामा नावालक भेटिएको छ । बिहान ६ नबज्दै देखिएको बच्चाका बाबु आमाको स्थानीयले खोजी गरे पनि भेटिएका छैनन् । आमा बाबु नदेखिए पछि स्थानीले प्रहरीलाई खबर गरे । प्रहरीले बच्चालाई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगे ।

राती देखी बच्चालाई छाडेका कारण बच्चा अस्वस्थ रहेको र हाल उपचार भैरहेकाो वडा प्रहरी कार्यालय बैदामका डिएसपि नविन कार्कीले जानकारी दिए । उनले बच्चा भेटियो भने पछि बच्चा नहुने आमा बुवा धेरै नै माग्न आएको बताए । उनले पक्रिया पु¥याएर ल्याउनेलाई जिल्ला प्रशासन कार्यालय कास्की वा महिला विकास कार्यालयबाट धर्मपुत्रका रुपमा पाल्न दिने बताए ।

बच्चा करिब डेढ महिनाको भएको उनले बताए । कास्कीका प्रमुख जिल्ला अधिकारीले तारानाथ अधिकारीले धर्मपुत्रका रुपमा पाल्न दिने, संरक्षण गर्न दिने, तत्काल पालन पोषण गर्न दिने भन्ने तीन वटा प्रक्रिया मध्ये एकका लागि अनुमति दिने बताए । उनले त्यसका लागि लिन चाहने परिवारको आर्थिक अवस्था, पहिलो बच्चा भए नभएको बारेमा जानकारी लिएर मात्रै दिइने बताए ।