बगर दुर्घटना–उग्र बन्दै प्रहरी, विद्यार्थीको अवरोध कायमै (भिडियो सहित)

पोखरा, माघ २३ ।
नगरबसको ठक्करबाट नेविसंघ नेताको मृत्यु भएपछि पोखरामा भएको तनाव झन् बढेको छ । प्रहरीले विद्यार्थी नियन्त्रणमा लिन खोजिरहेको छ भने विद्यार्थीले अवरोध हटाउन मानेका छैनन् । विहानै पक्राउ परेका विद्यार्थीको रिहाई माग्दै उनीहरु नाराबाजी सहित पिएन क्याम्पस गेट अगाडी प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले घटनाका दोषीमाथी कारबाहीको माग सहित विहानैदेखि आन्दोलन गरेका थिए । आन्दोलनपछि ठूलो संख्यामा प्रहरीहरु भेला भएका छन् । प्रहरीले स्थिती नियन्त्रणमा लिन खोज्दा विद्यार्थी र प्रहरी बीच झडपकै अवस्था समेत सिर्जना भएको छ । पटक पटक झडप भैरहेको छ । विद्यार्थीहरुले ढुंगामुडा गरिरहेका छन् । नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति सभापति बोधराज ढकालको सोमबार साँझ नगरबसले ठक्कर दिँदा मृत्यु भएको हो । अहिले नगर बस चलेको छैन । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको नेविसंघ पिएन क्याम्पसले जनाएको छ ।
विद्यार्थीहरुले पोखराका २० भन्दा बढी गाडीमा तोडफोड गरेका छन् भने उति नै संख्यामा गाडीका चावी पनि नियन्त्रणमा लिएका छन् । विद्यार्थीहरु संयमित रहेपनि प्रहरीले हस्तक्षेप गर्नु गलत भएको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले बताए । उनले प्रहरीलाई पनि संयमित भएर प्रश्तुत हुन आग्रह गरेका छन् । घटनाको छानवीन र तत्कालै क्षतिपुर्तिको ब्यवस्थापन नभएसम्म बन्द फिर्ता नहुने विद्यार्थीहरुले बताएका छन् । अहिले प्रहरी प्रशासन, पीडित र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा बैठक हुँदैछ । घटनाबारे छानवीन भैरहेको प्रहरीले जनाएको छ ।