फोहोरले पोखरालाई बर्षेनी ४ करोड घाटा

पोखरा, बैशाख ३ ।
महानगरको फोहोर उठाउने ११ वटा गाडी छन् । फोहोर उठाउन सार्वजनिक निजी साझेदारी (सानिसा) अवधारणा अनुसार ५ वटा कम्पनीलाई ठेक्कामा दिईएको छ । ठेकेदारले उठेको रकमको २५ प्रतिशत मात्रै महानगरलाई दिन्छन् । ७५ प्रतिशत आँफै राख्छन् । फोहोरबाट महानगरले बार्षिक २ करोड हाराहारीमा आम्दानी गर्छ । तर ६ करोड लगानी गर्नुपर्छ । हाल ७० हाराहारीमा कुचिकार खटिएका छन् भने अन्य कर्मचारी पनि कार्यरत छन् । कुचिकारको तलव भत्तामा मात्रै २ करोड खर्च हुने महानगरले जनाएको छ । अरु कर्मचारी, फोहोर बोक्ने गाडी, भौतिक पूर्वाधार निर्माण लगायत गरी ६ करोड जति खर्च हुने मेयर मानबहादुर जिसीले जानकारी दिए ।

  • फोहोर ब्यवस्थापन गर्दा महानगरले अहिले पनि बार्षिक ४ करोड घाटा ब्यहोरेको छ ।

‘फोहोर ब्यवस्थापन गर्दा महानगरले अहिले पनि बार्षिक ४ करोड घाटा ब्यहोरेको छ । अब घाटा परिपुर्ति गरेर आम्दानीको श्रोत बनाउने योजनामा महानगर लागेको छ, जिसीले भने–फोहोरमैला ब्यवस्थापन कार्यविधि तयार भैसकेको छ । अव नयाँ आर्थिक बर्ष लाग्ने वित्तिकै परिष्कृत हिसावले टेण्डर आह्वान गर्छौं ।’ पोखरामा दैनिक डेढसय टन फोहोर उत्पादन हुन्छ । बार्षिक हिसाव गर्दा महानगरबाट ३५ हजार टन भन्दा बढी फोहोर उत्पादन हुने आँकडा छ ।

पोखराको ल्याण्डफिलको आयु सकियो

पोखराको फोहोरमैला व्यवस्थापनको लागि १४ बर्ष पहिला ल्याण्डफिल्ड साइट निर्माण गरिएको हो । १५ बर्षको आयु तोकेर बनाईएको ल्याण्डफिल डिजाईनअनुसार अव १ बर्षमात्रै चलाउन मिल्छ । ‘डिजाईनको हिसावले आयु लगभग सकियो । पोखरा अन्तराष्ट्रिय विमानस्थलले पनि विकल्प खोज्न परिपत्र गरिसकेको हो, ल्याण्डफिलका ईञ्चार्ज नेत्र तिमिल्सीना भन्छन्–तोकिएको ५ लेयर पुरिसकिएको छ । तर कुनै अवरोध नभए अझै केही बर्ष फोहोर थुपार्न मिल्छ ।’ आयु सकिन लाग्दा समेत महानगरले विकल्पको खोजीबारे चासो दिएको छैन ।
४ बर्षअघि गरिएको एक सर्भेक्षणले पोखरामा उत्पादित फोहोरमध्ये ६८ प्रतिशत कुहिने भनि पहिचान गरेको थियो । बाँकी चाहीँ नकुहिने खालको छ । सबै प्रकारका फोहोरहरु अहिले ल्याण्डफिल साईटमा लगेर थुपारिन्छ । जसका कारण ल्याण्डफिल साईटको आयु झनै कमजोर भएको विज्ञहरु बताउँछन् । खण्डखण्ड जमीन रहेको ल्याण्डफिल साइटमा एक तह फोहोर र एक तह माटो गरी पुरेर जमीन सम्याईएको छ । नयाँ विकल्पबारे पनि आन्तरिक छलफल चलिरहेको मेयर मानबहादुर जिसीले बताए ।