फेसबुकबाट चिनजान भएपछि विहे, होटलमा हत्या गरेर भागेका युवक पक्राउ

काठमाण्डौं, कार्तिक ११ ।
आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्त शनिवार पक्राउ परेका छन् । गत भदौ १२ गते राजधानीको बसुन्धरामा रहेको स्पिड गेष्टहाउसमा श्रीमतीको हत्या गरी फरार रहेका मौवाबोटे १ खोटाङका अनिल परियार पक्राउ परेका हुन् ।

अभियुक्त परियारले आफ्नै १८ वर्षीय श्रीमती लक्ष्मी परियारलाई बसुन्धरास्थित स्पिड गेष्ट हाउसको कोठा नम्बर १०१ मा गएको भदौ १२ गते हत्या गरेका थिए । भदौ १२ गते नै हत्या भएपनि लक्ष्मीको शव भने भदौ १५ गतेमात्रै निकालिएको थियो ।

अनिल र लक्ष्मी भदौ १२ गते सँगै होटलमा बस्न गएका थिए । त्यसपछि सामान्य भनाभनमा आफूले लक्ष्मीको हत्या गरेको पक्राउ पछि अनिलले स्वीकार गरेका छन् ।

खोटाङका अनिल परियार र त्रिपुरासुन्दरी ७ धादिङकी लक्ष्मी परियारको चिनजान फेसबुकमार्फत् भएको थियो । वैदेशिक रोजगारीमा रहेका अनिल र लक्ष्मीबीच फेसबुकबाटै प्रेम भएपछि गएको साउनमा अनिलले लक्ष्मीलाई भगाएर विवाह गरेका थिए ।

विवाहपछि करिब १ महिना लक्ष्मी पनि अनिलसँगै खोटाङको घरमा गएर बसेको अभियुक्तले बताएका छन् । त्यसपछि काठमाडौं फर्किएका उनीहरुबीच विवाद सुरु भएको थियो ।

होटलमा बस्न गएको समयमा विवाद भएपछि आफूले लक्ष्मीको घाँटी थिचेर हत्या गरेको अनिलले प्रहरीसामु स्वीकार गरेका छन् ।

हत्यापछि लुकीछिपी बस्दै आएका अनिललाई अपराध महाशाखाको टोलीले पोखराको माछापुच्छ्रे टोलबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।