फेवा किनारमा ‘द कल्चर रिसोर्ट’, मौलिक संस्कृति र विशेष सुविधा

पोखरा, कार्तिक १४ ।
पोखरा यसैपनि संस्कार र संस्कृतिले भरिपूर्ण छ । अचेल पूरानो संस्कार झल्किने क्षेत्रमा लगानी पनि निकै बढीरहेको छ । अरु भन्दा छुट्टै डिजाईन र विशेष सुविधा थपेर ग्राहकहरु भुलाउने प्रयास पर्यटन ब्यवसायीहरुले गरिरहेका छन् ।

पोखरामा बर्षेनी होटल तथा रेष्टुरेष्टहरु खुल्ने क्रम निरन्तर बढ्दो छ । पोखरा १८ सेदीमा मौलिक शैलीमा बनाएको नयाँ रिसोर्ट थपिएको छ । फेवातालको किनारमै निर्माण भएको रिसोर्ट मंगलबारदेखि संचालनमा आएको छ ।चर्चित फिल्म छक्कापञ्जाका नायक दीपकराज गिरी, केदार घिमिरे (माग्नेबुढा), जीतु नेपाल (मुन्द्रे), नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, काँग्रेस नेता शुक्रराज शर्मा, देवेन्द्रकुमार शेरचन, काँग्रेस नेतृ सरस्वति गुरुङ, काँग्रेस महासमिति सदस्य गिरीराज गौतम लगायतको टोलीले रिसोर्टको उद्घाटन गरे ।

पोखरा सिमलचौरका युवा व्यवसायी प्रेमबहादुर कार्की (प्रकाश) को एकल लगानीमा संचालनमा आएको रिसोर्टमा मौलिक शैली र सांस्कृतिक महत्वलाई विशेष ध्यान दिइएको छ । करिव ६ करोडको लागतमा निर्माण भएको रिसोर्टमा जतिसक्दो धेरै मौलिक र पुरातात्विक पक्षलाई ध्यान दिईएको छ ।साढे ६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको रिसोर्टले मुनाफा केन्द्रित भन्दा सामाजिक उत्तरदायित्वसहितको सेवामा आफूलाई उभ्याउने संचालक कार्की बताउँछन् । खानाका परिकारदेखि भेषभुषा र विभिन्न संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम रिसोर्टमा आउने पाहुनाहरुका लागि मुख्य आकर्षण हुने छन् ।

रिसोर्ट मौलिक शैलीका ढुंगा छापेर बनाइएको छ । रिसोर्टमा प्रयोग गरिएका काठ पनि मौलिक शैलीकै छन् । रिसोर्टमा ११ वटा सुविधासम्पन्न मौलिक शैलीका डिलक्स कोठा छन् । सुन्दर गार्डेन रेस्टुरेण्ट, गार्डेन बार र स्पा पनि छन् । पाहुनाहरुको मागलाई ध्यानमा राखेर रिसोर्टमा स्विमिङ पुल पनि निर्माण गरिनेछ ।

सो रिसोर्टमा सय जना क्षमताको सेमिनार हल उपलब्ध हुने छ । ५ हजार रुपैयाँमा पाहुनालाई कोठासहितको विशेष प्याकेज अफर दिईएको कार्की बताउँछन् । पाहुनाहरुको चाहनाअनुसार घोडाबाट रिसोर्टमा ल्याउने–लैजाने, फेवाताल क्षेत्रमा घुमाउने व्यवस्था पनि रिसोर्टले मिलाउने छ ।‘पोखरा यसैपनि संस्कृतिमय छ । पोखरा आउने पाहुना पनि विशेष खालकै हुन्छन्, कार्कीले भने–तिनै विशेष पाहुनालाई समेटेर मैले विशेष रिसोर्ट सञ्चालनमा ल्याएको हो । यसले ब्यक्तिगत भन्दा पनि पोखराको फरक पहिचान झल्काउने छ ।’

शान्त, एकान्त, वातानुकूलित ठाउँमा रहेको रिसोर्टबाट प्राकृतिक सौन्दर्यको प्रत्यक्ष अवलोकन गर्न सकिने, एकान्तमा बसेर अध्ययन गर्ने तथा अनुसन्धानका लागि आउनेलाई विशेष छुट प्रदान गर्ने रिसोर्ट संचालक कार्कीले बताए ।