फेवा किनारको ‘वाटरफ्रन्ट’ होटल निरन्तर नापजाँच, ढलको पानी तालमा !

पोखरा, जेठ २३ ।
बढी विवादित भएको पोखरा फेवा किनारमा पर्यटनविद् कर्ण शाक्यले निर्माण गरेको होटल नापजाँच समितिले निरन्तर अनुसन्धान र जाँच गरिरहेको छ । सोमबारदेखि काम थालेको समितिले मंगलबार पनि होटल अनुगमन र संरचनाको अवस्थाबारे छानवीन गरेको हो ।

समितिले होटल ६५ मिटरभित्र पर्ने÷नपर्ने, होटलबाट निष्कासित पानी प्रदूषित भए÷नभएको र ढल निकासको अवस्थाबारे अध्ययन गरिरहेको छ । अहिले कास्की मालपोत कार्यालयमा स्रेस्ता भिडाउने र अन्य तथ्यांक संकलनको काम गरिरहेको समिति संयोजक नारायण रेग्मीले बताए । फेवाताल मिचेर बनाइएका घर, होटल तथा अन्य व्यावसायिक संरचना हटाउन सर्वोच्चले सरकारका नाममा वैशाख १६ मा आदेश जारी गरेको थियो ।

सोही आदेशमा उक्त होटल ताल क्षेत्र वा संरक्षण क्षेत्रभित्र पर्नेरनपर्ने २ महिनाभित्र अदालतमा प्रतिवेदन पेस गर्न पनि भनिएको थियो । आदेशअनुसार सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रमुख नापी अधिकृत रेग्मीको संयोजकत्वमा समिति गठन गरेको थियो । संयोजक रेग्मीले २०३२ सालको तालको किनार पत्ता लगाएर नापजाँच गरिएको बताए ।

ढलको पानी फेवातालमा मिसिएको गुनासो आएपछि सरोकारवालाको रोहबरमा ढलको पानी संकलन गरी जाँचका लागि पनि पठाएको टोलीले होटलमा बनाइएको फोहोर ट्रिटमेन्ट प्लान्टको समेत अध्ययन गरेको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । काठमाडौं फर्किएर रिपोर्ट बनाई सिधै सर्वोच्चमा बुझाउने रेग्मीले बताए ।