फेवाताल डुलेर मेसिनले झार निकाल्न थालेपछि….(भिडियो सहित)

पोखरा, माघ २५ ।
वर्षायाम शुरु हुने वित्तिकै फेवाताललाई कुरुप बनाउदै फैलिने जलकुम्भी झार र फोहोर झिक्न फेवातालमा मेसिन प्रयोगमा ल्याइएको छ । पोखरा लेखनाथ महानगरपालिकाको ७५ लाख र सांसद रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट ५० लाख गरी १ करोड २५ लाखको लागतमा मेसिन ल्याइएको हो । विहिबार सांसद अधिकारी र महानगरका मेयर मानबहादुर जिसीले संयुक्त रुपमा उद्घाटन गरेर मेसिनलाई काममा खटाए । जलकुम्भी झार निकाल्न क्यानडाबाट एक्वाइटिक प्लान्ट हार्भेस्टिङ मेसिन ल्याइएको हो । ताल संरक्षणका लागि मेसिन उपयुक्त भएको भन्दै प्रमुख जिसीले यसको सञ्चालन महानगरपालिकाले गर्ने बताए । उनका अनुसार तालमुनि ६ फिटसम्मको झारलाई मेसिनले काटेर निकाल्ने छ ।
मेसिनको तौल २ टन छ । ३६ फिट लम्बाई र ८ दशमलव ५ फिट चौडाई भएको मेसिनले एक पटकमा २ टन झार निकाल्न सक्छ । तालमा वर्षेनी वर्षायामका जलकुम्भी मौलाउदाँ डुंगा सञ्चालन गर्न समेत कठिनाई हुने गरेको छ । जसले पर्यटन क्षेत्रमा प्रत्यक्ष नकारात्मक असर पु¥याउने गरेको ब्यवसायीहरु बताउँछन् । सांसद अधिकारीले फेवातालको संरक्षण गर्ने अन्य योजनाहरु पनि बनाएर अगाडी बढ्नु पर्ने बताए । उनले फेवातालको संरक्षणका लागि मुहानमा रहेका हर्पन र खहरे खोलाबाट आउने माटो रोक्नका लागि चेकड्याम बनाउनुपर्ने बताए । फेवातालबाट निकालिएको झार एक ठाउँमा जम्मा गर्ने र यसबाट कम्पोस्ट मल बनाउने योजना महानगरपालिकाको छ । www.ganthan.com