फेवाताल अतिक्रमणः नापी अधिकृतलाई जेल हाल्नुपर्छ–पर्यटनमन्त्री

पोखरा, भदौ ११ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले बदमासी गरेर फेवातालको जग्गा पास गराउने नापी अधिकृतलाई कारबाही गर्नुपर्ने बताएका छन् । पर्यटनमन्त्री बनेपछि पहिलो पटक पोखरा आएका उनले फेवातालको निरीक्षण गर्दै बाँध फुटेपछि नापी गरेर ब्यक्तिका नाममा जग्गा पास गराउने अधिकृतलाई जेल हाल्नुपर्ने बताए । ‘नापी अधिकृत छन् कि छैनन् ? छन् भने तिनलाई ल्याएर जेल हाल्नुपर्छ,’ फेवाताल डिलमा बसेर स्थानीय पर्यटन ब्यवसायी र सांसदसँग उनले भने । भट््टरालाईले फेवाको सिरान चंखपुर पुगेर ताल अतिक्रमणबारे अवलोकन गरे ।

फेवाताल बि.सं. १९९० को नापीमा नापी भएको छ । २०३१ सालमा बाँध फुट्यो । ३४ सालमा पुनः नापी आयो । त्यतिखेर पनि नापी भयो । उतिबेलै तालको धेरै जग्गा ब्यक्तिले आफ्नो नाममा पारे । ‘९० सालअघि नै दर्ता भएकोलाई क्षतिपुर्ति दिने र ३४ सालको नयाँ नापीमा दर्ता भएका जग्गालाई १६९२ रोपनी जग्गा खारेज गर्नुपर्छ । हामीले यही सुझाव सरकारलाई दिएका छौैं । तर कार्यान्वयन भएन,’ तत्कालीन फेवातालको अतिक्रमित जग्गा छानविन समितिका संयोजक विश्वप्रकाश लामिछानेले भने ।

प्रतिवेदनले यही अवस्थामा ताल अतिक्रमण बढ्दै गए ७५ बर्षअघि नै ताल पुरिने संकेत गरेको छ । लामिछानेका अनुसार ९ सय ५० जनाको लालपुर्जा खारेज गर्नुपर्ने देखिन्छ । यसकै आधारमा सर्वोच्च अदालतले पनि तीनवटा सरकारलाई छुट्टाछुट्टै जिम्मेवारी तोकेर ताल संरक्षण सम्बन्धी फैसला सुनाएको थियो । तर अदालतको आदेश कुनैपनि सरकारले टेरेनन् र अहिले अधिबक्ता खगेन्द्र सुवेदीले अदालतको अवहेलना गरेको आरोपमा पुनः प्रदेश सरकार र केन्द्र सरकार विरुद्ध रिट दायर गरेका छन् ।

उच्चस्तरीय समितिले ऐतिहासिक रूपमा तालकै जग्गा भएपनि १९९० सालदेखि तिरो तिरी भोगचलन गर्दै आएका ५४० रोपनी जमिनको मुआब्जा दिन सुझाएको छ । यस्तै, संरक्षण क्षेत्रभित्रका १६१ रोपनी जग्गाको मुआब्जा दिनुपर्ने सुझाव समेत प्रतिवेदनमा छ । २०३१ सालमा ३३ मिटर गहिरो फेवाताल मानवीय र प्राकृतिक अतिक्रमणले २०६४ को नापीमा १८ मिटर मात्र गहिरो देखिएको थियो ।

पर्यटनमन्त्री भट्टराईले आजै निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण समेत गरे । समयमै काम सक्न उनको निर्देशन छ । ‘एयरपोर्ट बनेपछि नेपालबाट निर्यात गर्ने बस्तु के हो ? यसबारे पनि सोच्ने बेला भयो । त्यसको तयारीमा लाग्नुपर्छ,’ उनले भने । विमानस्थलको हालसम्म ४५ प्रतिशत काम पूरा भैसकेको छ ।