फेवातालमाथी दोहन–यसरी चल्दैछ सीमसार सक्ने श्रृखंला

प्रकाश ढकाल
पोखरा, बैशाख २७ ।
एक बर्षअघि एग्रो फार्म खोल्ने नाममा खपौंदीको आडैमा फेवा किनार पुर्न लागेपछि स्थानीयले महानगरमा गुनासो गरे । चुनावको बेला परेकोले कसैले मतलव गरेनन् । चुनाव सकिएपछि रोक्न जाँदा किनार पुरिईसकेको थियो । कुनै संरचना नबनाउन निर्देशन दिँदै महानगरले चलिरहेको स्काभेटरको चावि खोसिदियो । केही महिना पनि नवित्दै पुरिएको ठाउँमा अस्थायी टहरा बनाएर मान्छे बस्न थाले । पुरिएको जग्गा होटल ब्यवसायी समेत रहेका लक्ष्मी नारायण श्रेष्ठको नाममा छ । विना स्विकृति ताल किनार पुरिएको भन्दै तत्कालीन फेवाताल संरक्षण आयोजनाले घर भत्काउन र आवश्यक कारबाही गर्न अघिल्लो बर्षको जेठ महिनामै महानगरलाई सिफारिस गरेको थियो । अहिलेसम्म महानगरले सिफारिस खोलेर पनि हेरेको छैन, कारबाही त परको कुरा ।


गएको चैत १ गते पोखरा २४ पामेको आडमा खेतियोग्य जमिन सम्याउने भनेर स्थानीय प्रेमराज तिमिल्सिनाले डोजर अनुमति महानगरबाट लिए । महानगरले बाटोमाथीको जग्गामा मात्रै डोजर चलाउने गरी स्विकृति दियो । ७ दिनका लागि भनेर स्विकृति दिईएपनि झण्डै महिनादिनसम्म डोजर चलाईएको स्थानीय बताउँछन् । जग्गाधनीले स्विकृति बाहेक करिब ६ रोपनी जग्गामा सिमसार पुरिने गरी माटो थुपारेका छन् । ‘बाटोमाथीको जग्गा देखाएर महानगरले डोजर चलाउने स्विकृति दिएको हो । ६ रोपनी जग्गा बाटो मुनि पनि पुरिएको छ, महानगरका एक ईञ्जिनियरले भने–गलत गरेको थाहा पाउने वित्तिकै नगर प्रहरी लगाएर काम रोक्यौं । हामीलाई पनि झुक्याएर बदमासी भयो ।’


सेदीफाँटको फेवा किनारमा किरण दाहालले आफ्नै खेत पुरेर धमाधम घर बनाइरहेका छन् । २ तले पक्की निर्माणाधीन दाहालको घर तालको मापदण्ड ६५ मिटरभित्र पर्ने भएपछि महानगरले नक्सापास स्विकृति दिएको छैन । सर्वत्र चर्चामा रहेको कर्ण शाक्यको होटल वाटर फ्रण्टको आडैमा घर बनिरहेको छ । मापदण्ड विपरित घर बनाएको भन्दै महानगरपालिकामा उजुरी पनि परेको छ । महानगरकै प्राविधिकहरुले पनि घरधनीलाई कारबाही हुनुपर्ने सुझाव पेश गरेका छन् । रामसारमा सूचीकृत फेवाताल किनारको ६५ मिटर भित्र कुनैपनि संरचना बनाउन पाईंदैन । फेवातालको मापदण्ड मिचेर गरिएका क्रियाकलाप विरुद्ध महानगरमा ८२ वटा उजुरी छन् । प्रारम्भिक अध्ययनले मापदण्ड विपरित ताल किनारमा २ सय १७ संरचना निर्माण भएको तथ्याकं महानगरसँग छ । ६५ मिटरको मापदण्ड र स्विकृति नलिईएका संरचनाहरु पनि यसैभित्र पर्छन् ।


फेवा किनारमा दिनहुँजसो दर्जनभन्दा बढी स्काभेटर र डोजर चलिरहेका छन् । बाटो बनाउने नाममा सिमसार पुरेर प्लटिङ निकै बढेको छ । सिमखेत पुरेर धमाधम प्लटीङ भैरहेको उजुरी महानगरमा दिनहुँ परेपनि कारबाहीमा भने सरकार मौन छ । मानवीय र प्राकृतिक अतिक्रमण तालमाथी बढीरहेको संरक्षणकर्मीहरु बताउँछन् । ‘सुरुमा जग्गा सम्याउने भनेर डोजर लगाईन्छ । विस्तारै प्लटिङ हुन्छ, उनीहरु भन्छन्–त्यसपछि किनबेच र घर बनाउने क्रम चल्न थाल्छ । सिमसार अतिक्रमण गर्ने यो श्रृखंलाबद्ध प्रक्रिया नै हो ।’ संरक्षणकर्मी डा. तीर्थबहादुर श्रेष्ठले ताल बचाउन जलाधार संरक्षण महत्वपूर्ण हुने बताए । ‘ताल भनेको पानीको सतह मात्रै होईन । जलाधार संरक्षण नगरे ताल बचाउन सकिन्न, उनी भन्छन्–ताललाई ढुंगामाटोले भन्दा बढी मान्छेले पेलेका छन् । तालको माया गर्ने तर तालमैत्री ब्यवहार नदेखाउने समस्य मुख्य हो ।’ अहिलेको अवस्थामा विकास निर्माण रोक्न नसकिने भन्दै उनले वातावरणमैत्री विकास अवधारणा अवलम्बन गर्नुपर्ने सुझाव दिए ।

 १ सय १० बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको फेवा जलाधारमा ३ सय ३० किलोमिटर कच्ची सडक निर्माण भैसकेको छ ।

सन् १९५७ को नापी अनुसार २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको फेवाताल अहिले मुश्कीलले १० हजार रोपनीमा खुम्चिएको छ । तथ्यांक अनुसार बर्षेनी १ लाख ४२ हजार मेट्रिक टन गेग्रान र माटो तालमा मिसिन्छ । फेवाको संरक्षणका लागि जलाधार क्षेत्रमा हुने प्लटिङ रोकेर खोलाको मुहान संरक्षणमा जोड दिनुपर्ने क्षेत्रीय वन निर्देशनालय पोखराका उपसचिव माधव बराल बताउँछन् ।

‘आँखै अगाडी ताल सकिन लागिसक्यो । संरक्षणका लागि धेरै संघ संस्थाले पैसा खन्याएका छन्, उनले भने–बर्षैपिच्छे ताल साँघुरिँदो छ । अव सरकारले नै स्वामित्व लिएर संरक्षण थाल्नुपर्छ ।’ फेवा जलाधारमा हुने खेती प्रणालीमा सुधारदेखि सडक विस्तारलाई तत्काल रोकिनुपर्ने उनको धारणा छ । आईयुसिएनले गरेको एक रिपोर्ट अनुसार १ सय १० बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको फेवा आसपासमा ३ सय ३० किलोमिटर कच्ची सडक निर्माण भैसकेको छ । नयाँ ट्रयाक खोल्ने क्रम अझै रोकिएको छैन । अध्ययनका अनुसार भदौरे, चापाकोट, कास्कीकोट लगायतका क्षेत्रमा ४४ हजार रोपनीभन्दा बढी जमिन बाँझो भैसकेको छ । ४७ हजार रोपनी खेतीयोग्य क्षेत्रमध्ये मुश्किलले ३ हजार रोपनीमा खेती भैरहेको तथ्यांक छ । १ हजार ४ सय घरधुरीमध्ये ४ सय घरधुरी पूर्ण विस्थापित भैसकेका छन् भने अरु परिवार पनि विस्तारै बसाईसराईंको क्रममा छन् ।

निरन्तर बसाईसराईं भैरहेपनि गाउँमा सडक खन्ने क्रम चाहीँ रोकिएको छैन । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले फेवा जलाधारमा डोजर चलाउन तत्कालै रोक्ने बताएका छन् । ‘सिमसार पुरेर घडेरी बनाउन पाइँदैन । मान्छे शहर झरेपछि गाउँमा मोटर लगेर के गर्नु, उनी भन्छन्–आवश्यक्ता भन्दा बढी प्रकृति दोहन गर्दा त्यसको ईफेक्ट मान्छेलाई नै पर्ने हो । जलाधारमा हेभि ईक्युपमेण्ट अव रोकिन्छ ।’ उनले जलाधार क्षेत्रको खेती प्रणाली समेत सुधार गर्ने बताए ।

संरक्षणको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार कृष्णमणी बराल फेवा किनार भन्दा जलाधार मुख्य समस्याको रुपमा रहेको सुनाउँछन् । ‘फेवातालको समस्या शहर होईन । लेकसाईडले त प्रदुषण मात्रै बढाएको छ, उनी भन्छन्–मुख्य समस्या माथिल्लो तटिय क्षेत्रमा छ । कृषिमा चक्लाबन्दीको कुरा सरकारले चलाईरहँदा तालसँग जोडिएका सिमसार प्लटिङ हुनु डरलाग्दो कुरा हो । यसले तालको भविष्य र कृषि क्षेत्र पनि संकटमा पार्छ ।’

सर्वोच्च अदालतले हालै फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारलाई आदेश दिएको छ । सर्वोच्चको आदेश आईरहँदा पनि मापदण्ड विपरित संरचना बन्ने क्रम चलिरहेको छ । २०६९ सालमा विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिले तालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको प्रमाण निकालेको थियो । समितिले ९ सय ५० जना व्यत्तिको लालपूर्जा खारेज गर्न सिफारिस गरे पनि कार्यान्वयन हुन सकेको छैन् । ३ बर्षअघि फेवा सहित कास्कीका ९ ताललाई रामसार सूचीमा सूचीकृत पनि गरिएको छ । हरियो वन कार्यक्रम अन्तर्गत संरक्षण विकास फाउण्डेसनले यहाँका तालहरुको संरक्षण सहित प्रयोगका लागि गुरुयोजना तयार गरिसकेको छ । धेरै योजना यसअघि नै बनिसकेपनि मन खोलेर कार्यान्वयन हुन सकेको छैन ।