फेरियो चोरसाँघुको पहिचान, पक्की पुल बन्यो

पुस २४ ।
सेती तर्ने दुईवटा मात्रै पुल थियो । एउटा महेन्द्रपुल र अर्को चोरसाँघु । रामबजार, छिनेडाँडा देखि विजयपुर निस्किन मानिसहरुले चोरसाँघु तर्थे । काठको साँघु थियो । काठकै पुल तरेर ठूला गाडीहरु पनि आवातजावत गर्थे । पोखरेलीको मुलबाटो पनि यही थियो । २०१८ सालमा भारतीय पेन्सन क्याम्प बनेपछि बाहिरी जिल्लाका मान्छेहरुपनि यही साँघु तरेर पेन्सन थाप्न पुग्थे । ‘पेन्सन क्याम्प बनेपछि रातसाँझ यो पुल तर्न निकै कठिन थियो । पेन्सन बुझेको मान्छेसँग पैसा चोर्न यही साँघु ढुकेर लुटेराहरु बस्थे, स्थानीय सुदर्शन रञ्जीत भन्छन्– पैसा बोकेका मान्छेहरु डराईडराई यो बाटो हिड्थे । चोरको विगविगी बढेपछि पुलको नाम नै चोरसाँघु भयो ।’ उनको अनुभवमा २०३० सालमा चाईना पुल बनेपछि मात्रै यस ठाउँमा चहलपहल घटेको हो । चाईना पुल बनेपछि चोरसाँघु ओझेलमा प¥यो । चहलपहल नभएपछि धेरैलाई चोरसाँघु थाहा छैन ।
पोखराको बढ्दो ट्राफिक जामले सरकारलाई अर्को बाध्यता थपिएको छ, यसको ब्यवस्थापन गर्ने । त्यसैले लामो समयपछि चोर साँघुमा पक्की पुल निर्माण भयो । पुल निर्माण भएपछि पोखरा छिर्ने बैकल्पिक बाटो पनि थपिएको छ । पोखरा ७ र १५ नम्बर वडालाई जोड्ने गरी निर्माण भएको चोरसाँघु पक्की पुल सोमबार सांसद रवीन्द्र अधिकारीले उद्घाटन गरे । साविक जिल्ला विकास समितिको समन्वयमा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले १ करोड ६० लाखको लागतमा पुल निर्माण गरेको हो । ३० मिटर लामो पुलमा सडक विभागको ७० र तत्कालीन जिविसको ३० प्रतिशत लागत परेको छ । पुल निर्माण भएसँगै पोखराका ७, ९, १४, १५ र १७ नम्बर वडाका नागरिकलाई आवतजावत गर्न सहज भएको छ ।
पुल उद्घाटनपछि बोल्दै सांसद रवीन्द्र अधिकारीले ५ बर्षका लागि देशको जिम्मा वाम गठबन्धनको काँधमा गएको बताए । जनताको माग स्थिर सरकार भएको भन्दै अवको ५ बर्ष गठबन्धनले देश हाँक्ने उनको भनाई छ । ‘जनताले देशको जिम्मा गठबन्धनलाई दिएका छन् । अव त्यसको दायित्व हामी लिन्छौं–उनले भने ।’ प्रदेशसभा सांसद कृष्ण थापाले राजनीतिक गतिरोध अन्त्य भएको भन्दै अव देश आर्थिक समृद्धी र विकासको मोडलमा अगाडी बढ्ने बताए । पूर्व सांसद शारदा पौडेलले पराजीत भएपनि जनताको हक अधिकार र विकासको पक्षमा सँधै लागिरहने प्रतिबद्धता जनाईन् । जिल्ला समन्वय समिति कास्कीका संयोजक वैनबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक जीवन कुमार श्रेष्ठ, वडाध्यक्षहरु प्रकाश पौडेल, रामचन्द्र वराल, जिल्ला ईन्जिनियर नारायण वराल लगायतले बोलेका थिए ।