फेदीखोलाको नगर सफा गर्न विद्यार्थी परिचालन

पोखरा, असार ४ ।
स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहर संकलन गर्ने अभियान थालेको छ । समुदाय, विद्यालय तथा विभिन्न ठाउँमा छरिएर रहेका प्लास्टिकजन्य फोहरका कारण वातावरण प्रदूषण बढ्दै गएकाले यसको प्रयोगमा निरुत्साहित गर्ने उद्देश्यले विद्यार्थीमार्फत फोहर संकलन अभियान थालिएको हो ।

‘बिट प्लास्टिक पोलुसन’ भन्ने अभियानसहित गाउँपालिकावासी तथा विद्यार्थीले वर्षभरिको प्लास्टिकजन्य फोहर सङ्कलन गरी तौलको आधारमा पुरस्कार दिने योजना अगाडि सारिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । “प्लाष्टिकबाट हुने प्रदूषणले हाम्रो समुदायलगायत समग्र विश्व नै आक्रान्त पारिरहेको छ” उनले भने, “गाउँपालिकाभित्रका प्रत्येक विद्यार्थीलाई घर तथा घर वरपरको प्लास्टिकजन्य फोहर सङ्कलन गर्न आह्वान गरेका छौँ । विद्यार्थीले एकवर्षको अवधिमा सङ्कलन गरेको फोहरको तौलको आधारमा आगामी वातावरण दिवसमा पुरस्कार दिनेछौँ ।”

पालिकाका अध्यक्ष सुवेदीका अनुसार अभियानमा गाउँपालिकाभित्रका २६ सामुदायिक विद्यालय र चार संस्थागत विद्यालयका तीन हजार विद्यार्थी संलग्न छन् । “कक्षा १ देखि १२ सम्मका विद्यार्थीले विद्यालयमा होस् या समुदायमा आफूले जति सक्छन् त्यति नै प्लास्टिकजन्य फोहर सङ्कलन गरी राख्छन्” उनले भने, “उनीहरुले सङ्कलन गरेको फोहरको तौल गरी पुरस्कारस्वरुप रकम उपलब्ध गराउँछौँ ।” गाउँपालिकाले सबै विद्यार्थीको नाममा खाता सञ्चालन गरी सोही खातामा रकम जम्मा गरिदिने तयारी गरिरहेको उनको भनाइ थियो ।

File Photo