फूल्नै नपाएको फूलबारी रिसोर्ट, ४ बर्षदेखि बन्द

प्रकाश ढकाल
पोखरा, जेठ ६ ।
हजार जनाको क्षमता भएको स्तरीय सेमिनार हल । आफ्नै गल्फ कोर्ष । डेढसय स्विट र डिलक्स रुम । शान्त वातावरणमा यति ठूलो होटल सम्भवतः नेपालमै छ्रैन । पोखराको गहना, पाँचतारे होटल फूलबारी रिसोर्ट ४ बर्षदेखि बन्द छ । लगातार हुने कर्मचारीको आन्दोलनबाट आक्रान्त भएपछि सञ्चालकले घाटा देखाउँदै रिसोर्ट बन्द गरेका हुन् । सन् १९९८ मा यो रिसोर्ट खुल्दा राजधानी बाहिर पाँचतारे होटल बनेकै थिएन ।

स्पा टुरिजमलाई अघि सारेर अन्तराष्ट्रिय मापदण्डको रिसोर्ट बनेपछि पोखरामा विदेशी पर्यटकको बसाई राम्रैसँग धान्न थाल्यो, यो होटलले । भिजिट ईएर १९९८ र त्यसपछिका २ बर्ष राम्रोसँग चल्यो । त्यसपछि सुरु भएको जनयुद्धताका होटल पूरै घाटामा चल्यो । जुनबेला पोखरा मात्रै होईन देशैभरका ब्यापार ब्यवसाय अन्य विकास तथा अर्थतन्त्रमा नराम्ररी असर ग¥यो । त्यही चपेटामा लामो समय गुज्रियो फूलबारी रिसोर्ट पनि । ‘एकातिर ब्यापार थिएन । अर्कातिर कर्मचारीको आन्दोलन र राजनीतिक पार्टीका कार्यकर्ताहरुलाई चन्दा दिनैपर्ने धम्की थियो, सञ्चालक भन्छन्–घाटाको ब्यापार कति दिनसम्म चल्छ र ? बाध्य भएर बन्द गर्नुप¥यो ।’

नेपालमा तत्कालीन माओवादीले जनयुद्ध सुरु गर्नुअघि पोखरामा धेरै पर्यटकीय होटलहरु खुलिसकेका थिए । सामान्य, मध्यम र उच्च स्तरीय होटलहरु पोखरामा आवश्यक्ता अनुसार थिए । विस्तारै द्धन्द्ध चर्किँदै गयो, पर्यटकहरु नेपाल आउनै डराउन थाले । पर्यटक नपाएपछि होटलहरु कसका लागि चलुन् ? ब्यापार नचलेपछि अधिकांश राम्रा होटलहरु बन्द भए । अहिले चलिरहेका धेरै होटलहरु शान्ति प्रक्रियापछि नयाँ ब्यवस्थापनले जिम्मा लिएर सञ्चालन गरेका हुन् ।

पोखरामा रहेको एकमात्र पाँचतारे होटल ग्राण्ड जनयुद्धकै समयमा बन्द भएको थियो । ब्लु बर्डको नाममा सञ्चालित चारतारे यो होटल जनआन्दोलन पछि पोखरा ग्राण्डको नाममा पाँचतारेको रुपमा सञ्चालन गरिएको हो । उतिबेला स्तरीय मानिने माउण्ट अन्नपूर्ण र न्यू क्रिस्टल सँधैका लागि बन्द भए । यो ठाउँमा अहिले गण्डकी मेडिकल कलेजको होस्टल राखिएको छ । पुमोरी, ट्रागोपान लगायतका राम्रा होटलहरु पनि कहिलै नखुल्ने गरि बन्द भए । हंग्री आईको नाममा चलेको अहिलेको ल्याण्डमार्क पनि जनयुद्धताका लामो समय बन्द भयो ।

त्यतिबेलाको फेवा प्रिन्स चल्न नसकेर ब्यवस्थापन फरिएपछि रोयल पाल्मको नाममा चलिरहेको छ । पोखराको न्यूरोडमा निकै चलेको होटल थियो–चौतारी । द्धन्द्धमा खर्च धान्न नसकेपछि पूर्ण रुपमा बन्द भएर विक्रि गर्नुपर्ने अवस्थामा पुग्यो । अहिले त्यो ठाउँमा नोवल एकेडेमी चलिरहेको छ । त्यसबाहेक पनि धेरै होटलहरु छन्, जुन द्धन्द्धका कारण पर्यटक नआएपछि बन्द भए ।

संचालनको सुरुदेखि नै समस्यामा परेको फूलबारी रिसोर्ट पछि पनि कर्मचारी संगठनले गर्ने दिनहुँको आन्दोलनबाट थलियो । सुरुमा थाईल्याण्डको व्यवसायीक समुह दुसित्थानीले व्यवस्थापनको जिम्मा लिएको थियो । ब्यवस्थापनले होटलको अन्तराष्ट्रिय मापदण्ड कायम गर्न नसकेका कारण थाइल्याण्डको कम्पनी पछि हट्यो ।

त्यसपछि चारतको चेन होटल कम्पनी क्लार्कले होटलको जिम्मा लियो । ब्यवस्थापनले सम्झौता अनुसार काम नगरिदिएपछि ६ महिना नबित्दै क्लार्कले पनि हात झिक्यो । पछि होटलका सञ्चालक पियुषबहादुर अमात्यले आफ्नै ब्यवस्थापनमा होटल चलाउन थाले । पर्यटकको रोजाइमा परेपनि चुस्त ब्यवस्थापनकै अभावमा कर्मचारी आन्दोलनका कारण २०७१ सालदेखि होटल पूर्ण रुपमा बन्द भएको हो । धेरै पटकसम्म आन्दोलनरत मजदुर र ब्यवस्थापकबीच समझदारी भएपनि कार्यान्वयनमा देखिएको समस्याले रिसोर्ट धरासायी बनेको हो ।

पर्यटकीय गतिविधि बढिरहेको बेला पाँचतारे होटल बन्द हुँदा पोखराको पर्यटनमा समेत धक्का लागेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन बताउँछन् । ‘फूलबारी रिसोर्ट चलेको भए अन्तराष्ट्रिय ठूला सेमिनार पोखरामा गर्न सकिन्थ्यो । सेमिनारमा आउने पाहुनाले पोखराको पर्यटकीय चहलपहल पनि बढ्थ्यो, उनले भने–पर्यटकको आगमन बढिरहेको अवस्थामा यो होटल अति आवश्यक छ । फूलबारी रिसोर्ट नचल्दा अरु होटलको ब्यापारमा पनि असर परेको छ ।’

गण्डकी प्रदेश सरकारले पनि यो रिसोर्ट चलाउनका लागि पहल गर्नुपर्ने उनको सुझाव छ । ‘जुन अपेक्षामा खोलिएको थियो, द्धन्द्धका कारण त्यो सफलता पाउन सकेन । आर्थिक र ब्यवस्थापनकै कारण होटल स्खलित हुँदै गयो र अन्तमा बन्द गर्नुपर्ने अवस्था आयो, उनी अघि भन्छन्–अहिलेको अवस्थामा स्थानीय, प्रदेश र संघ सरकारले पनि पुर्नस्थापनाका लागि मद्धत गर्नुपर्छ । यो हाम्रो पोखराकै गहना हो ।’

होटल बन्द भएपछि १ सय १७ जना कर्मचारी एकैचोटी बेरोजगार बनेका थिए । अहिले पुनः नयाँ ब्यवस्थापन सहित होटल सञ्चालनको तयारी गरिएको छ । होटलका महाप्रबन्धक समिर कपिलले होटल सञ्चालनका लागि विभिन्न अन्तराष्ट्रिय कम्पनीसँग कुरा भैरहेको बताए ।

‘पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनिरहेको छ । यो अवस्थामा फूलबारी रिसोर्ट बन्द हुँदा पोखराको पर्यटनमा पनि नकारात्मक असर पर्छ, उनी भन्छन्–यही सिजनबाट होटल पुनः सुरु गर्ने तयारी छ । छिटै मर्मतको काम थाल्छौं ।’ उनका अनुसार सिंगापुरको म्यारिट कम्पनीले ब्यवस्थापनको जिम्मा लिन लागेको छ । तर सम्झौता भने भैसकेको छैन । होटल बन्द भएपछि धेरै कम्पनीहरुले किन्ने प्रयास गरेका थिए । तर सञ्चालकले आँफ्नै स्वामित्वमा रहने गरि ब्यवस्थापनको जिम्मामा छोड्न लागेका छन् ।

३ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टले सय रोपनी जति सरकारी जग्गा प्रयोग गरेको छ । रिसोर्टमा तीनअर्व भन्दा बढी लगानी छ । गण्डकी सरकारले विभिन्न चरणमा भ्रमण बर्ष नै घोषणा गरेर कार्यक्रम गरिरहेको छ । यो अवस्थामा स्तरीय होटलहरुको आवश्यक्ता झनै बढ्दो छ । नयाँ संरचना बनाउन कठिन हुने भएकोले भैरहेका संरचनाको अधिक उपयोग गर्नुपर्ने होटल ब्यवसायीहरु बताउँछन् ।