फिर्के खाेलाको मापदण्ड घटाईने, ५ मिटर कायम गर्न विज्ञको सुझाव

प्रकाश ढकाल
पोखरा, असोज १५ ।
गएको फागुन महिनामा पोखरा महानगरपालिकाले फिर्के खोलाको सीमाना छुट्यायो । हाल फिर्केको मापदण्ड १० मिटर छ । तर महानगरले परीक्षण भन्दै ५ मिटरभित्रका संरचनालाई रेजा लगाएर छोडेको छ । भूकम्पअघि पोखरा उपत्यका नगरविकास समितिले फिर्केलाई ६ मिटर मापदण्ड तोकेको थियो । २०७२ सालको भूकम्पपछि नेपाल सरकारले बस्ती विकास निर्देशिका बनाएर खोलाको मापदण्ड कम्तिमा १० मिटर हुनुपर्ने ब्यवस्था गरेको छ ।

पोखरा महानगरपालिकाले बस्ती विकास निर्देशिकालाई लत्याएर पुनः ५ मिटर मापदण्ड लगाउने तयारी गरिरहेको छ । डा. भरत पहारीको संयोजकत्वमा गठीत समितिले फिर्केमा ५ मिटर मापदण्ड पर्याप्त हुने प्रतिवेदन तयार गरेको महानगरका बरिष्ठ इञ्जिनियर शारदा मोहन काफ्लेले जानकारी दिए । ‘निर्देशिकाले ठाउँ र अवस्था हेरी खोलाको मापदण्ड १० मिटर कायम गर्नु भनेको थियो । तर फिर्केमा १० मिटर आवश्यक देखिएन, उनले भने–पहिले पनि ६ मिटर थियो । अहिले त्यसलाई परिमार्जन गरेर लैजाने तयारी भएको छ ।’ पूरै मापदण्ड लागू गर्दा धेरै घर भत्किने भएपछि महानगरले मापदण्ड नै फेर्न लागेको हो ।

प्राविधिकले नापजाँच गर्दा झण्डै २ सय घरटहरा ५ मिटरको मापदण्डभित्र पर्छन् । १० मिटर कायम भए हजार हाराहारीमा घरटहरा भत्किने महानगरकै प्राविधिकहरु बताउँछन् । सर्वसाधारणदेखि पहुँचवालाले समेत मापदण्ड मिचेर संरचना बनाएका छन् । रिपोर्ट अनुसार १ सय ९२ घरटहरा मापदण्ड विपरित छन् । तिमध्ये ३ वटा स्कुलमात्रै छन् । पोखरा ईञ्जिनियरिङ कलेज, लिटिल स्टेप बोर्डिङ स्कुल र अमरज्योति स्कुलले मापदण्ड मिचेर संरचना बनाएका छन् ।

सरकारी कार्यालय र सामाजिक संघ संस्थाले पनि फिर्के मिचेर पूर्वाधार निर्माण गरेका छन् । १३ वटा सामाजिक संघ संस्था र ७ वटा सरकारी कार्यालयले फिर्केको मापदण्डभित्रै संरचना बनाएका प्राविधिक रिपोर्टमा उल्लेख छ । ३० वटा घर सुकुम्बासीका छन् भने अरु पहुँचका भरमा घर बनाएर बसेकाहरु छन् । अबैध रुपमा निर्माण गरिएका संरचनालाई छिटै सूचना निकालेर हटाउने महानगरले उद्घोष गरेपनि नापजाँच गरेको ५ महिना वितिसक्दा समेत भत्काउन सकेको छैन ।

अवैध घरटहरा भत्काउन सूचना समेत नगरी गएको असार १ गते फुट ट्रयाक निर्माण गर्ने भन्दै मेयर मानबहादुर जिसी डोजर लिएर फिर्के पसे । प्राविधिक अध्ययन विनै पस्र्याङबाट सुरु गरिएको काम ५० मिटर पनि नपुग्दै रोकियो । डोजर लगाईएको ठाउँमा अहिले पहिरिएको छ । इन्जिनियर महेन्द्रबहादुर गोदार चाहीँ भर्खर प्राविधिकले डिजाईनको काम थालेको बताउँछन् । ‘पहिले डिजाईन थिएन । अहिले कन्सल्ट्याण्ट हायर गरेर डिजाइन बनाउने जिम्मा दिईएको छ, उनले भने–केही समयमै डिजाईन पूरा हुन्छ । त्यसपछि एक्सनमा लैजान्छौं ।’

उनका अनुसार एविज ईञ्जिनियरिङलाई डिजाईनको जिम्मा दिईएपनि काम सकिएको छैन । जनप्रतिनिधी आईसकेपछि मापदण्ड कार्यान्वयन हुने धेरैको अपेक्षा पूरा नहुने निश्चित जस्तै भैसकेको छ । ‘खोलाको मापदण्ड १० मिटर हो । घटाएर ५ मिटर बनाईयो । आफ्ना मान्छेलाई संयोजक बनाएर मनपरी मापदण्ड तोक्नु कानुन विपरित छ, नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल भन्छन्–जनप्रतिनिधीले कलकं मेट्नका लागि गरेको नाटक हो । पानी बगेको ठाउँबाट फुट ट्रयाक बन्न सक्दैन ।’

जनतामा भ्रम सिर्जना गर्नका लागि महानगरले गलत काम गरिरहेको उनको धारणा छ । ‘साँच्चिकै काम गर्ने भए अँधेरीकुना वा फेवातालबाट सुरु गर्नुपर्छ । बीचबाट गर्ने हैन, उनले भने–वडा नम्बर ५ बाटै थाल्ने भएपनि लायन्स क्लव भत्काएर अघि बढ्नुपथ्र्यो । काम गर्ने मनसायमा महानगर देखिँदैन ।’

मेयर मानबहादुर जिसीले बजेट अभावले अहिले काम रोकिएको बताए । अघिल्लो बर्ष महानगरले ५ नम्बर वडाभित्र काम गर्ने गरी २५ लाख विनियोजन गरेको थियो । ‘बजेट नभएर काम रोकिएको हो । यसपाली छुट्याएका छौं, भदौबाट काम सुरु हुन्छ, उनले भने–फिर्केको सिरानदेखि पुछारसम्म फुट ट्रयाक बनाईछाड्छौं ।’ उनले यसअघि पनि फिर्केको जमिन मिच्नेलाई बिदाइ गरिने चेतावनी दिएका थिए । ‘पहिलो चरणमा मापदण्ड नमिचिएको ठाउँमा बनाउँदै जान्छौं ।

त्यतिबेलासम्म नैतिक दवाव पर्छ र आँफै फाल्न थाल्छन्, जिसी भन्छन्–त्यति गर्दा पनि अटेरी भए महानगरले डोजर लगाउँछ ।’ मापदण्ड जति तोकिएपनि फिर्के खोला मिचेर संरचना ठड्याउने क्रम रोकिएको छैन । प्राविधिकले नापिसकेपछि पनि केही समयअघि मात्रै सगरमाथा उच्च माविले फिर्केको मापदण्ड मिचेर ग्याविन लगाएको छ । महानगरले मिचिएको मापदण्डभित्र रेजा लगाएर पर्खाल भत्काउन निर्देशन गरेपनि भत्काईएको छैन । महानगरले नियम मात्रै बनाउने र कार्यान्वयन नगर्दा पछिल्लो समय गलत काम गर्नेलाई झनै प्रोत्साहन मिलिरहेको छ ।

पोखराको भविष्य जोगाउन मापदण्ड कडाईका साथ कार्यान्वयन गर्नुपर्ने भुगोलविद्हरुको सुझाव छ । प्राडा कृष्ण केसी सेती र फिर्के–बुलौंदी किनार निकै कमजोर रहेको भन्दै तत्कालै घरटहरा हटाउनुपर्ने बताउँछन् । ‘पोखरा यसैपनि कमजोर छ । यहाँको जमिन जुनसुकै बेला दब्न सक्छ, उनले भने–खोलाको मापदण्डै मिचेर घर बनाउँदा सुरक्षित हुनै सक्दैन । यसलाई जतिसक्दो चाँडो हटाउनुपर्छ ।’ जनप्रतिनिधीले मापदण्डमा निर्मम भएर निर्णय लिनुपर्ने उनले सुझाए ।