फिर्केको मापदण्ड घटाउन माग गर्दै स्थानीय आन्दोलित

पोखरा, माघ ७ ।
फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितिद्धारा फिर्के खोलाको मापदण्ड खोलाको मध्यभागबाट तिन÷तिन मिटर कायम गर्न आईतबार महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । समितिका संयोजक नारायण विक्रम शाही र सहसंयोजक कृष्ण पराजुली (ढाका मोहन) द्धारा हस्ताक्षरित उक्त ध्यानाकर्षण पत्रमा लामो समयदेखि स्थानिय निकायमा जनप्रतिनिधिहरु नहँदा फिर्केको व्यवस्थापन हुन सकेको थिएन ।

जनप्रतिनिधि आएपछि यसको न्यायसंगत व्यवस्थापन हुनेमा आशावादी भएपनि अहिले विभिन्न सञ्चार माध्यमबाट फिर्केको मापदण्ड १० मिटर बनाईएको जानकारी आएकोले स्थानिय वासिन्दामा अन्यौल सृजना भएको वताईएको छ ।

साथै पत्रमा जनप्रतिनिधिहरुबाट कहिले व्यक्ति, समुदाय, संघसंस्था, धार्मिक, साँस्कृतिक, समाज, शैक्षिक संस्थाका घरजग्गामा जथाभावी चिन्ह लगाउने, कहिले अस्पष्ट मापदण्ड तोक्ने कार्यले सरोकारवालाहरुको सम्पत्ति माथि दाग लगाउने कार्य भएको समेत लेखिएको छ ।

महानगरपालिकालाई बुझाइएको सो पत्रमा लेखिएको छ, ‘गणतन्त्रात्मक शासन पद्धतिमा जनताको सम्पत्तिको अधिकार, मानव अधिकार, जस्ता विषय, नैसर्गिक अधिकार भित्र पर्छन कि पर्दैनन् ? यस विषयले राष्ट्रिय एवम् अन्तराष्ट्रिय न्यायलयमा प्रवेश पाउँछ कि पाउँदैन ? यस्तो निर्णय गर्दा सरोकारवालाहरुको सहभागिता र सहमति आवश्यकता पर्छ कि पर्दैन ?’ फिर्के खोलाको मध्य भागलाई केन्द्र बनाई दायाँ–बायाँ ३÷३ मिटर मापदण्ड कायम गर्न उनीहरुको माग छ ।