फाष्ट ट्रयाकमा पुरक बजेट–मुख्यमन्त्री
पोखरा, फागुन ७ ।
सभालाई विशेष सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार बजेटको खाका बनाउने काममा ब्यस्त रहेको बताए । हतारमा पूरक बजेट ल्याउनुपर्ने भएकाले जतिसक्दो छिटो मन्त्रीपरिषद्लाई पूर्णता दिने र सबै जनशक्ति नीति तथा कार्यक्रमको डिजाईनमा लाग्ने उनको भनाई छ । ‘आर्थिक बर्ष सकिन लाग्यो । २०७५÷०७६ को बजेट यही आर्थिक बर्षभित्र ल्याउनुपर्छ, उनी भन्छन्–प्रदेश सरकारको पहिलो बजेट भएकाले केही अप्ठ्यारा छन् । तर सबै सांसदहरुको सहयोगमा फाष्ट ट्रयाकबाटै पूरक बजेट ल्याउछौं ।’ उनले सबैको साझा संकल्प प्रदेशको समृद्धी भएकाले सोही अनुसार ब्यवहार प्रश्तुत गर्न आग्रह समेत गरे । ‘श्रोत र साधनले हामी सबैभन्दा अगाडी छौं । यो सबैमा जगजाहेर छ, उनले भने–तर त्यसलाई सहि सदुपयोग गर्नका लागि सहमति र सहकार्य आवश्यक छ । श्रोत छ भनेर चुप लागेर बस्नुहुँदैन ।’
प्रदेश सरकारका प्राथमिकता बारे केही निर्णयहरु मन्त्रीपरिषद्बाटै सार्वजनिक भैसकेकाले त्यसलाई सघाउने गरी बजेट आउने बताएका छन् । मुख्यमन्त्री गुरुङले उत्तर दक्षिण कोरिडोर, कालिगण्डकी र बुढीगण्डकी कोरिडोर लगायत अन्य सडकहरु, खानेपानी, बिद्युत, शिक्षा र स्वास्थ्यका क्षेत्रमा सरकारको ध्यान जाने बताए । ‘कोरला सुस्ता सडक केन्द्रिय सरकारको पनि प्राथमिकतामा हुनुपर्छ । हाम्रो झनै रणनैतिक योजना हो, उनले थपे–अरु यस्ता धेरै योजनाहरु छन् जसलाई केन्द्रिय सरकारसँगको समन्वयमा पूरा गर्नुपर्छ । हामी त्यसका लागि प्राथमिकता तोकेर कार्ययोजना सहितको बजेट तयार गर्छौं ।’ उनले अन्तराष्ट्रिय खेलमैदान, अन्तराष्ट्रिय सभागृह, सबैको घरघरमा विद्युत र खानेपानी, स्थानीय तहको केन्द्रसम्म प्रदेश राजधानीको सडक सञ्जाल लगायतका योजना संसदमा पनि दोहो¥याएका थिए । मन्त्रीपरिषद्को पहिलो बैठकबाटै कार्यतालिका सहित विभिन्न योजनाहरु सार्वजनिक गरिएको थियो ।