प्रेस रिभ्यु–ओलिको भारत भ्रमण निर्देशिका विपरित
काठमाण्डौं, चैत २३ ।
काठमाण्डौंबाट निस्किने अधिकांश पत्रिकाको प्राथमिकतामा छ, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण । विविध शीर्षकमा प्रधानमन्त्रीको भारत भ्रमणलाई समेटेका पत्रपत्रिकाहरुले प्रतिबद्धता जनाएर पनि भारतले पूरा नगरेका प्रसंगसँगै नेपाल पक्षको सदाबहार कमजोरी औंल्याएका छन् । नयाँ पत्रिकाले ‘सात महिनामै दोस्रो राजकीय भ्रमण’ शीर्षकमा मुख्य समाचार लेखेको छ । समाचार अनुसार, भ्रमण निर्देशिकामा एक वर्षमा एउटा देशमा एउटा मात्रै राजकीय भ्रमण गर्नुपर्ने उल्लेख भएपनि त्यसविपरीत ओलीको भ्रमण हुँदैछ । भारतले वचन दिएर पनि पूरा नगरेका प्रतिबद्धतासँगै नेपाल पक्षको कमजोरी पनि नयाँँ पत्रिकाले केलाएको छ । प्रधानमन्त्रीको भारत भ्रमणकै विषयलाई मुख्य समाचार बनाएको नागरिक दैनिकले पुराना सन्धि कार्यान्वयनको पाटोमाथि चर्चा गरेको छ । आफ्नो समाचार टिप्पणीमा लेखेको छ–यसअघिका तीनवटै प्रधानमन्त्रीले भारत भ्रमणमा जानुअघि नयाँ सन्धिसम्झौतामा भन्दा यसअघि भएका सन्धिसम्झौताको समीक्षा र कार्यान्वयनमा जोड दिने बताएका थिए । तीनवटै प्रधानमन्त्रीले यसो भने पनि नयाँदिल्ली पुगेपछि ३–४ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेर फर्केका छन् । उनीहरुले भनेझै वर्षौंअघि सम्झौता भएर अड्केका सन्धिसम्झौताको समीक्षा पनि भएका छन् । तर व्यवहारमा कहिल्यै अघि बढेनन् ।’ कान्तिपुरले ‘प्राथमिकतामा बराबरीको सम्बन्ध’ शीर्षकमा मुख्य समाचार छापेको छ भने अन्नपूर्ण पोस्ट र गोरखापत्र दैनिकले पनि अन्य पत्रिकाहरुले जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको आजबाट हुन लागेको भारत भ्रमणको चर्चा परिचर्चा गरेका छन् ।
नयाँ पत्रिका दैनिकले फितलो तयारीका बीच हतारमा भ्रमण गर्ने नेपालको प्रवृत्तिलाई मुख्य कमजोरीका रुपमा औंल्याएको छ । नयाँ पत्रिका लेख्छ– भ्रमणका लागि निम्त्याउने देशले द्विपक्षीय शिखर वार्तापछि जारी गरिने संयुक्त विज्ञप्तिको मस्यौदा अगाडि नै पठाएको हुन्छ, जसमा भ्रमण गर्ने पक्षले गहन गृहकार्य गर्नपर्ने हुन्छ । केही महिनाअघि शेरबहादुर देउवाको भारत भ्रमणका लागि गृहकार्यमा तत्कालीन योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले सक्रिय थिए । तर, संयुक्त विज्ञप्तिका लागि प्रभावकारी छलफलको परम्परा नै नभएको देखेर आपूm छक्क परेको वाग्ले बताउँछन् । विकसित देशले लामो गृहकार्य अर्थात् वर्षौँ तयारी गरेका हुन्छन् । नयाँ पत्रिकाका अनुसार, भ्रमणको तयारी परम्परागत छ । तयारीमा राजनीतिक नेतृत्व सहभागी नै हुँदैन । राजनीतिक नेतृत्व कूटनीतिक पाटोमा कमजोर रहेको हीनभाव राख्ने राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन् । प्रधानमन्त्रीको भारत भ्रमणमा के माग्ने भन्नेमै सिंहदरबार व्यस्त रहन्छ । परराष्ट्रले के माग्ने भनेर सबै मन्त्रालयसँग सोध्छ, मन्त्रालयहरूले सूची पठाउँछन् । मगन्ते ताल कस्तो छ भने सरकारले आफ्नै स्रोतबाट सजिलै बनाउन सकिने योजनाका लागि पनि भारतको मुख ताक्ने गरिन्छ । जानकारहरू भन्छन्—अब त नेपालले केही माग्ने नै होइन, पहिलाका प्रतिबद्धता पूरा गर्दिए पुग्छ, भन्दिए पुग्छ । एउटै पञ्चेश्वर बनाइदेउ अरू केही माग्न पर्दैन भन्दिए हुन्छ । तर, मगन्ते ताल कस्तो छ भने शेरबहादुर देउवाले भारत भ्रमणमा आएका चिनियाँ उपप्रधानमन्त्रीसँग तनहुँमा ‘गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र’ निर्माण गरिदिन अनुरोध गरे ।
भ्रमणका लागि अनावश्यक मान्छेलाई सहभागी गराईनुलाई पनि नयाँ पत्रिकाले कमजोरीका रुपमा अथ्र्याएको छ । प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणका लागि ५५ वटा टिकट बुक गरिएको छ, यसअघि सयभन्दा बढीसम्मको टोली पनि भ्रमणमा थिए, जबकि कामचाहिँ सात–आठजनाको मात्र हुन्छ । टोली ठूलो हुँदा लाजमर्दो हुने अवस्था पनि अक्सर आउँछ । फेरि नेपाली पक्षले भ्रमण दलको सदस्यको नाम पनि समयमै दिँदैन । समयमा नाम नपाएका कारण स्वागत गर्ने पक्षले तयारी गर्न पाएको हुन्न, होटेल बुकिङसमेत नभएको हुन सक्छ । प्रधानमन्त्री ओली यसअघि भ्रमणमा छँदा मुम्बई पनि पुगेका थिए । मुम्बईको हायात होटेलमा कसलाई कुन कोठा भन्ने अन्योल हुँदा अर्थमन्त्री नै झन्डै एक घन्टा लबीमा कुर्नपरेको एक व्यवसायी सुनाउँछन् । देउवाको भ्रमणका क्रममा हैदराबादमा त्यस्तै भयो ।