प्रेस यूनियनद्वारा मुख्यमन्त्रीलाई बधाई

पोखरा, असार १६ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसमक्ष नेपाल प्रेस युनियनले बुधबार भेट गरेको छ । प्रेस युनियन कास्कीका अध्यक्ष नबिन सिग्देल नेतृत्वको टोलीले मुख्यमन्त्रीलाई भेट गरी बधाईसहित सफल कार्यकालको शुभकामना दिएको छ । सोही अवसरमा युनियनले सामाजिक विकाश मन्त्री कुमार खड्कालाई पनि बधाई दिएको थियो ।

भेटमा मुख्यमन्त्री पोखरेलले प्रेस स्वतन्त्रता प्रति सधैं प्रतिवद्ध रहेको बताए । प्रेस युनियनले आफ्नै पार्टीको सरकार हुँदा धेरै खालका अपेक्षा गर्नु स्वाभाविक नै भएको बताउँदै माग पुरा गर्नु आफूहरुको दायित्व रहेको जनाए । सरकार अहिले ठिक लाइन र जनताको पक्षमा रहेको पनि उनको भनाइ थियो । पत्रकारको हकहितका लागि साधन स्रोतले भ्याएसम्म पत्रकारहरुसँगै सल्लाह गरेर अघि बढ्ने बताए ।

सामाजिक विकाश मन्त्री तथा प्रवक्ता कुमार कुमार खड्काले यो वर्षको बजेटमा पत्रकारका लागि केही नयाँ कार्यक्रम ल्याएको बताए । बजेटमा पत्रकारका लागि २ करोड भन्दा माथिको बजेट छुट्याएको उनको भनाई छ । पत्रकार महासंघको भवन नबनेका ६ वटा जिल्लामा भवन निर्माणका लागि ६० लाख बजेटको प्रस्ताव गरेको उनले जानकारी दिए ।

प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलले श्रमजिवी पत्रकारको मनोवल बढाउने खालको कार्यक्रममा प्रदेश सरकारको साथ आवश्यक रहेको बताए । प्रेस स्वतन्त्रताका लागि अघिल्लो सरकारले भन्दा १० गुणा बढि काम गर्नुपर्ने उनको धारणा थियो । पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले प्रदेशका पत्रकारहरुको अभिभाकत्व निभाउने काम गर्नुपर्ने बताइन् ।

सरकारले गरेका कामलाई सफल बनाउन पत्रकार सधैं लागिपर्ने उनको भनाइ थियो । नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनीले लोककल्याणकारी विज्ञापनको मुल्य केही बढाउन माग गरिन् ।

कार्यक्रममा युनियनका सल्लाकारहरु राजबहादुर गुरुङ, गंगाधर पराजुली, केन्द्रिय उपाध्यक्ष रमेश पौडेल लगायतले आमसञ्चार प्रतिष्ठान, मिडिया विधेयक मिडिया मैत्री बनाउनुपर्ने, पत्रकारको क्षमता वृद्धि लगायतका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।