प्रहरी थुनामा आत्महत्या प्रयास, युवकको मृत्यु
भरतपुर, बैशाख २८।
इलाका प्रहरी कार्यालय रत्ननगरको थुनुवाकक्षमा आत्महत्याको प्रयास गरेका समिर घिसिङको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घिसिङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा शुक्रबार राति ११ बजे मृत्यु भएको हो ।
चोरीको अभियोगमा बैसाख २५ गते पक्राउ परेका कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय घिसिङले २६ गते दिउँसो थुनुवाकक्षमा रहेको शौचालयमा नै आत्महत्याको प्रयास गरेका थिए । घिसिङले आत्महत्याको प्रयास गरेसँगै प्रहरीको कमजोरीका कारण घटना भएको भन्दै बिहीबार राति आफन्त र स्थानीयबासीले इलाका प्रहरी कार्यालय र प्रहरी चौकी पदमपुरमा तोडफोड गरेका थिए ।