प्रहरी इन्काउन्टरबाट पनि बाँचे ’टीके डाँका’

भरतपुर, माघ १३ ।
डिल्लीबजार कारागारबाट गत साता भागेका कैदी टीकाबहादुर थापा ’टीका’ शनिबार प्रहरीको इन्काउन्टरमा परेपनि बाँच्न सफल भएका छन् । शनिबार साँझ ५ बजे चितवनको रामनगरमा प्रहरीको गोली लागेर उनी घाइते भएका हुन् । गोली लागी मृत्यु भयो भनेर प्रहरीले सुरुमा बताएपनि अस्पताल पुर्याउँदा उनी जीवित रहेको खुलेको थियो । डकैती मुद्दामा दुई वर्षदेखि डिल्लीबजार कारागारमा कैद सजाय काटिरहेका थापा गत माघ ४ गते कारागारबाट भागेका थिए । उनलाई पक्राउ गर्न महानगरीय अपराध महाशाखाबाट प्रहरी टोली खटिएको थियो । मोटरसाइकलमा सवार उनलाई पक्राउ गर्न लाग्दा रामनगरमा मुठभेड भएको थियो ।
त्यसै क्रममा प्रहरीको गोली लागेर उनी ढलेका थिए । भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारपछि थापाले आफ्नो स्वास्थ्य ठीक रहेको बताए । उनलाई थप उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर रिफर गरिएको छ । उनको हात र दायाँ तिघ्रामा गोली लागेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभुप्रसाद ढकालले बताए ।