‘प्रहरीले दिएको पौडेलको रिपोर्ट कच्चा’

पोखरा, असार १६ ।
अनुसन्धान नै पूरा नगरी प्रहरीले रिपोर्ट सार्वजनिक गर्नु कच्चापन भएको टिप्पणी हुन थालेका छन् । महानगरका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएकोमा खोजी र अनुसन्धान पूरा नहुँदै घटना सार्वजनिक गर्नु कच्चापना भएको टिप्पणी गरिएको हो ।

कास्की प्रहरीले महानगरमा प्रश्तुत गरेको प्रतिवेदनमाथी विहानैदेखि सामाजिक सञ्जालमा विवादित छ । अनुसन्धानकै क्रममा रहेको सिसीटिभी क्यामेराको भिडियो सार्वजनिक गरिनु, घरमा लेखिछोडेको सामान्य पत्र सार्वजनिक गरिनु र शंकाका भरमा परस्त्री र अन्य ब्यक्तिहरुसँग सम्पर्क रहेको भन्नु गलत भनी हतारोमा जोगिने प्रयास गर्न लागेको टिप्पणी गरे ।

साथै सम्पर्कमा रहेका ब्यक्तिहरुको पूरै विवरण पत्रकार सम्मेलनमा सार्वजनिक गर्नु ठूलो कमजोरी भएको गुनासो छ । सामाजिक सञ्जालमा राजनीतिक पार्टीदेखि सामान्य ब्यक्तिहरुले पनि स्वतन्त्र रुपमा टिप्पणी सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।

कास्की प्रहरीले पौडेल सेती नदीमा हामफालेको निष्कर्ष निकालेको छ । महानगरमा पत्रकार सम्मेलन गरी हतारमा विवरण सार्वजनिक गरेको प्रहरीले अनुसन्धान पूरा नभएकोमा सर्वत्र चिन्ता र चासो छ । पत्रकार सम्मेलनमा एसपी ओम रानाले पौडेलको खोजी सेती नदी र आसपासमा केन्द्रित गरेको जानकारी दिए ।

यस्तै बेपत्ता भएको ८ दिनसम्म सार्वजनिक नभएको पौडेलले घरमा छोडेको चिट पनि अध्ययन पूरा नहुँदै सार्वजनिक गरिएको छ । प्रहरीका अनुसार बेपत्ता रहेको पौडेलको केही महिलासँग रहस्यमय सम्बन्ध देखिएको छ । बेपत्ता हुनु अघि पौडेलको फोन र एसएमएसको डिटेलले ३ जना महिलासँगको सम्बन्ध ‘शंकास्पद’ भएको प्रहरीले जनाएको छ । उनको मोवाईलमा बारम्बार १ महिला र २ पुरुषको फोन आउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । चितवन निवासी महिलाले ६८ पटकसम्म पौडेलको मोबाइलमा मिसकल गरेको देखिएको छ ।

तर, हाल उक्त मोबाइलको स्वीच अफ रहेको प्रहरीको भनाइ छ । पोखरा छोरेपाटनका एक पुरुष र झापाका अर्का एक पुरुषले पनि अघिल्लो दिनदेखि घटना घटेको दिनसम्म बारम्बार सम्पर्क गरेको रेकर्ड भेटिएको छ । यी बाहेक अन्य केही मोबाइल नम्बरलाई पनि प्रहरीले निगरानीमा राखेको जनाएको छ । यसरी शंकाकै भरमा मोवाईल नम्बर र नाम सार्वजनिक गरिनु चरित्र हत्या र मानहानी गरेको भनी गुनासो भएका छन् ।

काँग्रेस कास्की र स्थानीय तह कर्मचारी युनियनले चाहीँ महानगरलाई दोषी बनाएर छानवीन गरि कारबाहीको माग गरेको छ । कर्मचारी र महानगर प्रमुखको पेलानका कारण पौडेलले घर छोड्नुपरेको उनीहरुको निष्कर्ष छ । एसपी रानाले चाहीँ मेयर मानबहादुर जिसीले आरोप खण्डन गर्न डाकेको पत्रकार सम्मेलनमा अनुसन्धानकैै क्रममा रहेको विवरण प्रश्तुत गरेका थिए ।