प्रशासनिक संरचनाहरुमा राजनीतिक प्रभाव बढ्यो : कमल थापा

 

काठमाडौं, माघ २५ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप अधिकार दिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले ललिता निवास जग्गा प्रकरणमा अख्तियारले गरेको कार्य सकारात्मक भएको भन्दै आयोगलाई राजनीतिक दबाब र प्रभावबाट मुक्त गरिनुपर्ने बताए ।

राजनीतिक प्रभाव बढ्यो

उनले कारबाही, अनुसन्धान र न्याय दिने निकायहरुमा दुई प्रमुख दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले भागबन्डामा आफूअनुकूलको पदाधिकारी नियुक्त गरेको भन्दै प्रशासनिक संरचनाहरुमासमेत राजनीतिक प्रभाव बढ्दै गइरहेको बताए ।

भ्रष्टाचारको मुद्दामा कोही पनि निर्दोष पर्न नहुने र अपराधीले उन्मुक्ति पाउन नहुने भन्दै उनले अदालतले थप अनुसन्धान गरेर मुद्दाको टुंगो लगाउनुपर्ने स्पस्ट पारे ।

भ्रम फैलाउने प्रयास

अध्यक्ष थापाले ‘एमसीसी’मा कुनै प्रकारको राष्ट्रघाती सम्झौता नभएकाले योजनाबद्ध ढंगले भ्रम फैलाउने प्रयास भइरहेको दाबी गरे ।

देशको आर्थिक विकासको लागि अमेरिकाको आर्थिक सहायता लिनुपर्नेमा उनले जोड दिए ।

उनले एमसीसीमा विवाद गरिरहनुभन्दा सम्झौतामा भएका कमी–कमजोरीहरु सच्चाएर यसलाई चाँडै पारित गर्नुपर्नेमा जोड दिए ।

महाअधिवेशनलाई प्राथमिकता

फरक प्रसंगमा अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीले महाअधिवेशनलाई प्राथमिकता दिएको बताए ।

राप्रपाको महाधिवेशन २०७७ साल जेठ २५ गतेबाट काठमाडौंमा सुरु हुँदैछ ।
(ईमेजखबरबाट साभार)