प्रमुख प्रशासकीय अधिकृतलाई २४ सै घण्टा कार्यालयमा बस्न निर्देशन

काठमाण्डौं, असार ३१ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई २४ सै घण्टा कार्यालयमा रहन निर्देशन दिएको छ । अहिले देशका विभिन्न ठाउँमा बाढीपहिरो, डुबानले उद्धार र राहत कार्यक्रम तत्काल गर्नुपर्ने भएकाले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय छाडेर कतै नजान निर्देशन दिएको मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिए ।

मन्त्रालयले विपद्को सयममा कतिपय स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नभएका र सो कारणले स्थानीय तहबाट हुने खोज तथा उद्धार, तत्कालीन राहत तथा शीघ्र पुनःलाभका काममा बाधा परेको भन्ने गुनासो मन्त्रालयमा आएकाले कार्यालय छाडेर कतै नगई राहत र उद्धारमा सहयोग गर्न निर्देशन दिएको छ ।