प्रधान न्यायधिश पराजुलीले आफ्नै नेतृत्वमा तोके डाक्टर केसी र कान्तिपुर मुद्दाको पूर्ण इजलास

काठमाडौं, फागुन २७।

त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकले अदालतको अवहेलना गरेको भन्दै परेका मुद्दाको आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ।
प्रधानन्यायाधीश गोपाल पराजुलीले दुबै मुद्दामा सुनुवाइ गर्न आफ्नै नेतृत्वमा ७ सदस्यीय पूर्ण इजलास तोकेका छन्।पूर्ण इजलासमा पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे सारदाप्रसाद घिमिरे, तेजबहादुर केसी छन्।
डाक्टर केसीको मुद्दामा पुस २६ गते न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीको स्वास्थ्यको ख्याल गरी उनलाई अधिवक्ता सुरेन्द्र भण्डारीको रोहबरमा रिहा गर्न उनको मागअनुसार प्रधानन्यायाधीश पराजुलीका शैक्षिक प्रमाणपत्र झिकाउन आदेश दिएको थियो। ती प्रमाणपत्र हेर्ने इजलास भने प्रधानन्यायाधीश पराजुलीले आफ्नै नेतृत्वमा तोकेका हुन्।
कान्तिपुर दैनिकमा प्रधानन्यायाधीशबारे छापिएका समाचारले अदालतको अवहेलना भएको भन्दै परेको मुद्दामा फागुन १३ गते प्रधानन्यायाधीश पराजुलीले आफैं सुनुवाइ गरेका थिए। उनले कान्तिपुरलाई बयानका लागि ३ दिनभित्र उपस्थित हुन आदेश दिएका थिए।