प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा व्यापक भ्रष्टाचार : कांग्रेस सांसद

 

काठमाडौं, पुस १ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यही पुस ४ गतेदेखि सुरु हुने संघीय संसदको चौथो अधिवेशनमा श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा रहेको विकृति, विसंगतिलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

कांग्रेसकी प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी सो अधिवेशनमा श्रम तथा वैदेशिक क्षेत्रमा रहेका व्याप्त अव्यवस्था, अनियमितता र शोषण अन्त्यका लागि आवाज उठाउने जानकारी दिइन् ।

उनले वैदेशिक रोजगार, सामाजिक सुरक्षा कोष तथा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको वर्तमान अवस्थाबारे तत्काल श्वेतपत्र जारी गर्न पनि सरकारसित माग गरिन् ।

उनले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा व्यापक भ्रष्टाचार र अनियमितता भएको जिकिर गरिन् । नेकपा नेतृत्वको सरकारले सर्वहारा वर्ग र मजदुरको नाममा विकृत पुँजीवाद अंगालेको आरोप उनले लगाइन् ।

सांसद संग्रौलाले सरकारले जनाताका हरेक समस्यालाई बेवास्ता गरिरहेको भन्दै श्रम क्षेत्रका समस्या पहिचान गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका कार्यक्रम ल्याउन माग गरिन् ।

यस्तै, उनले सामाजिक सुरक्षा योजना कार्यक्रम अलपत्र हुने अवस्था देखिएको भन्दै रोजगारदाता र श्रमिकलाई उल्लेख्यरुपमा योजनाभित्र ल्याउने गरी कार्यक्रम ल्याउनसमेत माग गरिन् ।
(ईमेजखबरबाट साभार)