प्रधानमन्त्री, गृहमन्त्री र आइजिपीसहित २१ जनाविरुद्ध सर्वोच्चमा रिट

काठमाण्डौं, मंसिर २१ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । ग्रामथान गाउँपालिका ३ मोरङका ३८ वर्षीय झलकुमार भगतले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । भगत नेपाली सेनाका भगौडा हुन् । उनले रिट निवेदनमा प्रधानमन्त्रीदेखि गृहमन्त्री, सेना र प्रहरीका प्रमुखसम्म २१ जनालाई विपक्षी बनाएका छन् ।

भगत २०६२ साल साउन ८ मा तत्कालिन शाही नेपाली सेनाबाट ‘विद्रोह’ गरी माओवादी सेनामा गएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि उनले वाइसीएलको स्थानीय नेताका रुपमा काम गरेका थिए । भगतलाई २०७४ मंसिर ८ गते राति आफ्नै निवासमा सुतिरहेका बेला मोरङ प्रहरीले पक्राउ गरी नेपाली सेनाको पूर्वी पृतना इटहरीको जिम्मा लगाएको थियो ।

प्रहरीले उनलाई निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो । तर, पछि भगौडा भन्दै सेनाले नियन्त्रणमा लिएको पारिवारिक स्रोतले जानकारी दियो । भगतविरुद्ध २०७४ पुस १७ मा सैनिक अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला भएको थियो । हाल उनी मकवानपुरको भीमफेदी कारागारमा छन् ।

रिट निवेदकले आफूलाई विस्तृत शान्ति समझौता, तत्कालिन सात राजनीतिक दल र विद्रोही माओवादीबीच भएको सहमति लगायतको भावनाविपरीत फैसला सुनाइएको दाबी गरेका छन् । रिटमा प्रधानमन्त्री ओलीसहित शान्ति सम्झौताका हस्ताक्षरकर्ता तत्कालिन नेकपा माओवादी र हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा बादल, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित २१ जनालाई विपक्षी बनाइएको छ ।

रिट निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, शम्भु थापा, हरि फुयाँल, गोविन्द बन्दी, बालकृष्ण न्यौपाने, उपेन्द्रकेसरी न्यौपाने, तुलसी भट्ट, शेरबहादुर केसी, रामबहादुर श्रेष्ठ र एकराज भण्डारीलगायतले बहस गर्ने छन् ।–नागरिक न्यूज